ad ad

राजनीति


‘समाजवादी जागरण अभियान’ ले नयाँ तरङ्ग : माधव नेपाल

‘समाजवादी जागरण अभियान’ ले नयाँ तरङ्ग : माधव नेपाल

नेपालखबर
मंसिर २५, २०८० सोमबार २०:२६, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजवादको आधारभूत मान्यतालाई जनताकाबीच पुर्‍याउन ‘समाजवादी जागरण अभियान’ ले समाजमा नयाँ तरङ्ग सृजना गरेको बताएका छन्।

गत असोजमा सम्पन्न अभियानमा खटिएका स्वयंसेवकलाई सम्मान गर्न पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मुलुकमा पहिलो पटक आफ्नो पार्टीले समाजवादी जागरण अभियान सम्पन्न गरेको बताए। 

सो अभियानले देशको राजनीति नै तरङ्गित बनाएकाले अहिले अन्य पार्टीले पनि अवलम्बन गरिरहेको उनले बताए।

एकीकृत समाजवादीले अघि सारेको उक्त अभियान जनतासँग एकाकार हुन प्रभावकारी भएकाले अरूले पनि अनुसरण गरेको बताउँदै उनले भने, ‘राम्रो कामको अरुले पनि अनुसरण गर्छन्। पार्टीलाई हेयको दृष्टिकोणले हेर्ने, जोसँग हाम्रो ठूलो अन्तरविरोध छ, त्यही पार्टीले हामीले घोषणा गरेको कार्यक्रम टिपेर हिँडिरहेको छ।’ 

अध्यक्ष नेपालले अभियानका क्रममा खटिएका स्वयंसेवकलाई धन्यवाद दिँदै पार्टीको सिद्धान्त र विचारप्रति प्रतिबद्ध भएर जनताको सेवामा क्रियाशील रहन निर्देशन दिए। 

अभियानका क्रममा भएका केही कमी कमजोरीबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने बताउँदै उनले भने, ‘हामीले अरूको प्रशंसा सुन्ने हो, हामीले गरेका कामको गहिरो समीक्षा गर्नुपर्छ। हामीले तय गर्ने मञ्च, हामीले प्रयोग गर्ने सडक, सुरक्षा आदिका बारेमा हामीले सचेतना अपनाउनुपर्छ। राम्रा कुरालाई फैलाउने र कमजोरीलाई सुधार गर्दै अगाडि बढ्नुपर्छ।’ 

समाजवादी जागरण अभियानलाई जनताले सकारात्मक रूपमा लिएको बताउदै अध्यक्ष नेपालले भने, ‘हामीले सम्पन्न गरेको अभियानलाई राजनीतिक क्षेत्रमा सकारात्मक रूपमा लिएका छन, त्यसको प्रशंसा भएको छ।’ 
    
महासचिव घनश्याम भुसालले मुलुकमा राष्ट्रिय पूँजी परिचालन गरी उद्यमशीलताको विकास गर्न समाजवादको खाँचो औँल्याउँदै त्यसले रोजगारीका साथै उत्पादन वृद्धि गर्ने र राष्ट्र निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

स्वयंसेवक सञ्चालन कमिटीका संयोजक विष्णु लम्सालले वर्तमान व्यवस्थामाथि उठेका चुनौतीलाई सामना गर्न परिवर्तन पक्ष सबै एकमत हुनुपर्नेमा जोड दिँदै भेला, सम्मेलन र सभाको आयोजना गरी जनतालाई जानकारी गराउनुपर्ने बताए। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .