सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको छलफल लगत्तै सचिवालयको बैठक सुरु भएको हो।
बुधबारदेखि जारी नेकपाको केन्द्रीय समितिको बैठकमा नेताहरु उठाएका प्रश्नहरुको जवाफ दिनका लागि प्रचण्डले अध्यक्ष ओलीसँग सल्लाह गरे लगत्तै सचिवालयमा सल्लाह गरेका हुन्।
दुबै छलफल केन्द्रीय सदस्यहरुका प्रश्नको जवाफका विषयमा केन्द्रित रहेको प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा जुगलले बताए। ‘आज अरु विषय छैन, केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफका विषयमा नै छलफल भएको हो’, सापकोटाले नेपालखबरसँग भने। आज अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यहरुले उठाएका विषयमा जवाफ दिने कार्यक्रम छ।

४४१ जना सदस्य रहेको नेकपाको केन्द्रीय समितिको बैठकमा १५ समूह बनाएर अध्यक्षद्वय ओली र प्रचण्डको राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णु पौडेलको सांगठनिक र विधान संशोधनको प्रतिवेदनमाथि छलफल भएको थियो।
छलफलमा धेरैजसो केन्द्रीय सदस्यहरुले एमसीसी, कालापानी क्षेत्रको अतिक्रमण, सरकारका कामकारबाही र पार्टी सञ्चालन प्रक्रियाका विषयमा कुरा उठाएपछि अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओली र सचिवालयका छलफल गरेका हुन्।
प्रधानमन्त्री एवं अध्यक्ष ओली बैठकको उद्घाटन सत्रमा मात्रै सहभागी भए। अन्य सत्रमा सहभागी नभए पनि केन्द्रीय सदस्यले उठाएको जिज्ञासाको जवाफ दिनेबारे दुई अध्यक्ष परामर्शमा रहेको प्रचण्डको सचिवालयले जनाएको छ।
Shares

प्रतिक्रिया