ad ad

राजनीति


मन्त्रालयका कर्मचारीप्रति मन्त्री शर्मा असन्तुष्ट, भनिन् : ‘सिरानीमा सुन राखेर नुन खोज्न हिँड्नेजस्ता’

मन्त्रालयका कर्मचारीप्रति मन्त्री शर्मा असन्तुष्ट, भनिन् : ‘सिरानीमा सुन राखेर नुन खोज्न हिँड्नेजस्ता’

फाइल फोटो


नेपालखबर
मंसिर १३, २०८० बुधबार १८:२२, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मातहतका निकायको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।

बुधबार काठमाडौंमा आयोजित ‘गीतसंगीत र रेडियो नेपाल’ विषयक अन्तर्क्रियामा उनले आफूमातहतका निकाय ‘सिरानीमा सुन राखेर नुन खोज्न हिँड्नेजस्ता’ भनेर असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले भनिन्, ‘हाम्रा सरकारी सञ्चार माध्यमहरु, निकायहरू, अरु पनि क्षेत्रहरू छन्, रेडियो नेपाललाई मात्रै मैले भनिरहेको छैन। हामी सबै कस्ता भयौँ भने सिरानीमा सुन राखेर नुन खोज्न हिँड्नेजस्ता।’

नेपाल सरकारकी प्रवक्तासमेत रहेकी मन्त्री शर्माले रेडियो नेपालसहितका सञ्चार मन्त्रालय मातहतका निकायमा सम्पत्ति भए पनि त्यसको सदुपयोग गर्न नसकेको बताइन्। उनले रेडियो नेपालमा देखिएको समस्या तत्काल समाधान गर्न त्यसका व्यवस्थापनलाई निर्देशन दिइन्। मन्त्री शर्माले पुराना स्रष्टा र सर्जकलाई सम्मान गर्ने कुरामा सरकारले कञ्जुस्याइँ गर्न नहुने पनि पटकपटक दोहोर्‍याइन्।

उनले भनिन्, ‘सम्पत्ति छ। तर सम्पत्तिलाई प्रयोग गर्न सकेका छैनौँ वा हाम्रा केही ऐन, कानुनहरु बाधक छन्? हामीले यसलाई प्रयोग गर्न नसकेर अघि यहाँ भन्नुभयो। तलब खुवाउन पनि हारगुहार गर्नुपर्ने अवस्थामा हामी पुगेका छौं। वास्तवमा यसलाई गहिरो ढंगले समीक्षा गर्न जरुरी छ। म आग्रह गर्न चाहन्छु–रेडियो नेपालका निर्देशकसहितको टिमले समस्याको ठीक ढंगले पहिचान गर्नुस्। हाम्रा यस्ता पाका, पुराना स्रष्टाहरूले यति धेरै गुनासो गर्ने स्थितिमा हामीले पुर्‍याउनु हुँदैन। उहाँहरूप्रतिको सम्मान राज्यले गर्न सक्नुपर्छ।’

मन्त्री शर्माले रेडियो नेपालसहितका निकायहरूलाई प्रभावकारी बनाउन कानुन बाधक भए सो समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको पनि बताइन्। त्यस अवसरमा उनले पुराना स्रष्टा र सर्जकहरूलाई रोयल्टी दिने कुरामा सरकार गम्भीर रहेकोसमेत बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .