ad ad

राजनीति


स्वर्णिम वाग्लेलाई उपसभापति बनाउन रास्वपामा छलफल

स्वर्णिम वाग्लेलाई उपसभापति बनाउन रास्वपामा छलफल

नेपालखबर
मंसिर १२, २०८० मंगलबार १६:३६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा बसिरहेको छ।

सोमबार सुरु भएको बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेश सभापतिहरूको पनि सहभागिता छ।

बैठकमा राजनीतिक, सांगठनिक, आर्थिक तथा अनुशासनसम्बन्धी प्रतिवेदनमा छलफल भइरहेको छ। सांसदहरूले आफ्नो कार्यविवरण प्रस्तुत गरेका छन्। बैठकले संसदमा पार्टीले खेलेको भूमिकाबारे पनि समीक्षा गरी समग्रमा आगामी रणनीति र महाधिवेशनलगायत विषयको निर्क्योल गर्ने भनिएको छ।

मधेस प्रदेशमा संगठन विस्तार यस बैठकको अर्को लक्ष्य रहेको छ। यही बीचमा रास्वपाले बारा, रौतहट र सप्तरीमा जनसभा पनि गरिसकेको छ।

यस बैठकले सांगठनिक स्वरूप र जिम्मेवारी बाँडफाँटका विषयमा पनि महत्त्वपूर्ण निर्णय लिने नेताहरूले बताएका छन्।

यसै क्रममा सांसद डा. स्वर्णिम वाग्लेलाई पार्टीको उपसभापतिको जिम्मेवारी दिनेबारे छलफल भइरहेको छ। कांग्रेस त्यागेर रास्वपा प्रवेश गरी गत वैशाखको उपनिर्वाचनमा तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका वाग्लेलाई पार्टीमा कुनै कार्यकारी भूमिका दिइएको छैन।

‘अहिले नै त्यो जिम्मेवारी दिने कि आउँदो महाधिवेशनसम्म कुर्ने भन्ने विभिन्न कोणबाट छलफल भएको छ,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले नेपालखबरलाई भने, ‘सभापतिज्यू (रवि लामिछाने)ले भने अहिले नै महत्त्वपूर्ण जिम्मेवारीमा आउनुपर्छ भन्नुभएको छ।’

महोत्तरीको जलेश्वरमा बसेको रास्वपा केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठक

यसबारे डा वाग्लेले मुख खोलिनसकेको ती केन्द्रीय नेताले बताए। उनले थपे, ‘उहाँ (डा वाग्ले)ले महाधिवेशनबाट पाएको जिम्मेवारी मात्र लिन्छु भन्नुभयो भने कुरा यहीँ सकिन्छ। उहाँ तयार हुनुभयो भने सम्भवतः यही बैठकले निर्णय लिन सक्छ।’

वाग्लेलाई यही बैठकबाट केन्द्रीय सदस्य मनोनयन गर्ने र उपसभापतिको जिम्मेवारी पनि तोक्ने विषयमा छलफल भए पनि निर्णय भने भइसकेको छैन।

खरो स्वभावका वाग्लेले आफू निर्वाचित पदमा मात्र बस्ने, टीका लगाएर कुनै पद नलिने भन्न सक्छन् कि भनेरसमेत यसबीचमा लामिछानेले  निकटस्थहरूसँग छलफल गरेका थिए।

अहिले सभापति लामिछाने रहेको पार्टीमा उपसभापति डोलप्रसाद अर्याल मात्र छन्। त्यसपछिको मर्यादाक्रममा प्रवक्ता तथा महामन्त्री डा मुकुल ढकाल, सहमहामन्त्रीमा कवीन्द्र बुर्लाकोटी र बसुमाया तामाङ छन्।

रास्वपामा हाल ४० सदस्यीय सदस्य छन्। 

यसअघि लामिछानेले गत फागुनमा १६ केन्द्रीय सदस्य थपेका थिए। जारी बैठकबाट रास्वपाले ११ केन्द्रीय सदस्य मनोनीत गर्ने तयारी गरेको छ। रास्वपामा अहिले पदाधिकारीसहित ३९ जना केन्द्रीय सदस्य छन्। तीमध्ये ढाकाकुमार श्रेष्ठको अडिओ प्रकरणमा मुछिएका मोहनबहादुर थापाले राजीनामा दिइसके पनि उनको नाम सूचीबाट हटेको छैन। 

लामिछानेले २०७९ असार ७ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा पार्टी घोषणा गरेका थिए। त्यसको १० दिनपछि अर्थात् असार १७ गते उक्त पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो।

प्रतिनिधि सभामा रास्वपा चौथो ठूलो शक्ति हो।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .