ad ad

राजनीति


महान्यायाधिवक्तामा अड्कियो सर्वोच्चको न्यायाधीश नियुक्ति

महान्यायाधिवक्तामा अड्कियो सर्वोच्चको न्यायाधीश नियुक्ति

फाइल तस्बिर


नेपालखबर
मंसिर ४, २०८० सोमबार १८:२१, काठमाडौँ

सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि आज पनि न्यायपरिषद्‌मा छलफल भएको छ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अग्रसरतामा आज दिनभरजसो छलफल भएको थियो। प्रधानन्यायाधीश श्रेष्ठ र वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा इजलासमै नबसेर न्यायपरिषद्‌को छलफलमा गएका थिए।

करिब ४ बजेसम्मै छलफल चले पनि कुनै निर्णय हुन नसकेको परिषद्‌का एक अधिकारीले जानकारी दिए।

उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशमध्येबाट ५ जना र कानुन व्यवसायीबाट २ जनालाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्न परिषद्‌मा करिब सहमति बनेको छ।

उच्च अदालतका एक मात्र मुख्य न्यायाधीश नृपध्वज निरौला, न्यायाधीशहरू राजन भट्टराई र टेकप्रसाद ढुंगानालाई सर्वोच्चमा ल्याउने तयारी गरिएको छ। यी सबै कर्मचारी पृष्ठभूमिका हुन्।

हालै संशोधन गरिएको न्यायपरिषद्‌ नियमावलीले न्याय सेवाको विशिष्ट श्रेणीमा काम गरेदेखिकै कार्यकाल गणना गर्ने बाटो खोलिदिएपछि उनीहरू वरीयतामा अगाडि आएका हुन्।

यीबाहेक समावेशी समूहबाट महिला, दलित, थारु वा मुसलमान समुदायमध्येबाट एकजना पर्ने भएका छन्। यसका लागि सत्यमोहन जोशी थारु, रत्नबहादुर बागचन्द, सारंगा सुवेदीमध्ये एकजना छान्नुपर्नेछ। यसमा पनि लगभग सहमति भइसकेको स्रोतले जनाएको छ।

कानुन व्यवसायीबाट सुनील पोखरेल र विजयप्रसाद मिश्रमध्ये एकजनाको सम्भावना देखिएको छ। उनीहरू दुवैजना नेपाल बार एसोसिएसनका पूर्वमहासचिव हुन्। दुवै नेपाली कांग्रेसनिकट कानुन व्यवसायी हुन्। यीमध्ये कसलाई बनाउने भन्ने लगभग टुंगिसकेको भए पनि अहिले सार्वजनिक गर्नु उचित नहुने न्यायपरिषद्‌का ती सदस्यले नेपालखबरलाई बताए।

छलफल वर्तमान महान्यायाधिवक्ता दीनमणि पोखरेललाई न्यायाधीश बनाउने कि नबनाउने भन्ने विषयमा अड्किएको ती पदाधिकारीले बताए।

पोखरेल माओवादीनिकट कानुन व्यवसायी हुन्। उनलाई भावी प्रधानन्यायाधीशको रोलक्रममा राख्ने गरी न्यायाधीश बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल र कानुनमन्त्री धनराज गुरुङको विशेष जोडबल छ। 

सत्तापक्षको यस्तो जोडबलमा वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडाको कडा आपत्ति छ। मन्त्रीले पोखरेलको समेत नाम अघि सारेपछि न्यायाधीश खतिवडाले त्यसको विकल्प दिन भनेका थिए।

विकल्प नल्याएसम्म छलफल अगाडि बढ्नै नसक्ने अडान खतिवडाले लिएपछि कुरा त्यहीँ अड्किएको हो।

पोखरेल सर्वोच्चको न्यायाधीश भएमा उनी २०९५ सालसम्म सेवामा रहनेछन्। अन्तिमका केही वर्ष उनी प्रधानन्यायाधीशसमेत हुनेछन्।

यदि पोखरेलको विकल्प खोजिएमा यसअघि नै माओवादी कोटाबाट सिफारिस भएका डीएन पराजुलीको सम्भावना बढ्नेछ। उनी हाल नेपाल ल क्याम्पसका प्रमुख छन्।

प्रधानन्यायाधीश श्रेष्ठ यही मंसिर १० गते भारत भ्रमणमा जाँदै छन्। त्यसअघि जसरी पनि न्यायाधीश नियुक्तिको सिफारिस गर्ने उनको तयारी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .