ad ad

राजनीति


यी ७ काम गर्न भूकम्प प्रभावित क्षेत्रमा गए कांग्रेसका दुई महामन्त्री

यी ७ काम गर्न भूकम्प प्रभावित क्षेत्रमा गए कांग्रेसका दुई महामन्त्री

फाइल तस्बिर


नेपालखबर
कात्तिक २२, २०८० बुधबार ११:१०, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भूकम्प प्रभावित क्षेत्रमा गएका छन्।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार जाजरकोट र रुकुम पश्चिमलगायत भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि महामन्त्रीद्वय थापा र शर्मा बुधबार त्यसतर्फ गएका हुन्।  

जाजरकोट भूकम्पपछिका अवस्थाबारे अनुगमन र सहजीकरण गर्न कांग्रेसले यसअघि महामन्त्रीद्वय थापा र शर्माको संयोजकत्वमा समिति गठन गरेको छ। 

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार महामन्त्रीद्वय विशेषगरी सात कार्यमा केन्द्रित रहनेछन्।  

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महामन्त्रीद्वयले प्रभावित क्षेत्रबाट आवश्यकताअनुरूप संघमा सोझै प्रधानमन्त्रीलाई तथा प्रदेशमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराई सहजीकरण र समाधान खोज्न बल पुर्‍याउनु हुनेछ।’ 

विज्ञप्तिअनुसार यस्ता छन् उनीहरूले गर्ने ७ काम
१. उद्धार कार्य अत्यन्तै तदारुक र प्रशंसनीय ढंगले भए पनि राहत सामग्री अझै पनि कयौं पीडितमा नपुगेको भनेर संचारमाध्यममार्फत उजागर कमजोरीहरूको वास्तविकता पहिचान गरी अविलम्ब उचित व्यवस्थापनमा ध्यान, ध्यानाकर्षण र सहजीकरण गर्ने।

२. संघ, प्रदेश, स्थानीय सरकार, राजनीतिक दलहरू, विभिन्न संघसंस्था एवं स्वयं सरकारी निकायहरूबीच ‘एकद्वार प्रणाली’ अनुसार समन्वय भएको छ या छैन। छैन भने एकद्वार पालना गर्नरगराउन थप सुझाव र सहजीकरण गर्ने।

३. उद्धार र राहतमा पुगेका बाह्य संघसंस्था र व्यक्तिहरूबाट कतै प्रतिकूल असर परेको अवस्था त छैन? सो निरीक्षण गरेर अविलम्ब त्यस्तो स्थितिलाई व्यवस्थापन गर्नरगराउन सुझाव र सहजीकरण गर्ने/गराउने।

४. उद्धार र राहत क्रममा नेपाली कांग्रेस पार्टीको स्थानीय भूमिकाको प्रभावकारिता, कमजोरी एवं अन्य दलहरूसँगको समन्वयको सहज स्थिति रहेकोे नरहेको स्थलगत बुझेर जरुरी समन्वय र प्रभावकारीतामा प्रेरित गर्ने तथा दीर्घकालीन रुपमा पुनर्स्थापना सम्पादन गर्नुपर्ने विषयहरूको अध्ययन गर्ने।

५. घाइतेको उपचारमा ध्यान केन्द्रित गर्ने स्वाभाविक र अनिवार्य दायित्व निर्वाह गरिरहँदा, भूकम्पबाट घाइते नभएका तर अन्य प्रकारका बिरामीको उपचारमा असहजताको अवस्था भएको हुनसक्ने स्थिति दृष्टिगत गरेर स्थिति व्यवस्थापनका अलग्गै संयन्त्र निर्माणमा समन्वय गर्ने।

६. सुत्केरी, अपांगता भएका नागरिक, बालबालिका एवं वृद्धवृद्धालाई विशेष प्राथमिकता साथ तत्कालीन व्यवस्थापनमा रहेका कमजोरी पहिचान र निदानमा जरुरी समन्वय।

७. पुनर्स्थापना र पुनर्निर्माणका लागि नेपाली कांग्रेसको धारणा प्रधानमन्त्रीलाई लिखित रूपमा बुझाइएको छ। यसको कार्यान्वयनमा के कस्तो समस्याहरू आइपर्न सक्छन्, सरोकारवालाहरूको सुझावहरू केके छन्, आदि विषयमा जरुरी परामर्श र अध्ययन गर्ने।

हेर्नुहोस् विज्ञप्ति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .