ad ad

राजनीति


सांसद भन्छन् : बाल सुधार गृह ‘बाल बिगार गृह’ मा परिणत भए

सांसद भन्छन् : बाल सुधार गृह ‘बाल बिगार गृह’ मा परिणत भए

नेपालखबर
कात्तिक १४, २०८० मंगलबार १५:४२, काठमाडौँ

संसदीय समितिले बाल सुधार गृहमा रहेका बालबालिका र कारागारमा रहेका कैदीहरुको मानव अधिकार हनन नहुने गरी आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।

मंगलवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकले बाल सुधार गृहमा रहेका बालबालिका र कारागारमा रहेका कैदीहरुको मानव अधिकार उल्लंघनका गम्भिर घटनाहरु भएको निष्कर्ष निकाल्दै त्यस्तो अवस्था आउन नदिने गरी आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो।

बालबालिका र कैदीबन्दीहरुको मानव अधिकार हनन नहुने गरी आवश्यक कार्य गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशन दिइएको समितिकी सभापति विमला सुवेदीले जानकारी दिइन्।

उनले भनिन्, ‘नेपालको बाल सुधार गृहमा रहेका कानुनको विवादमा परेका बालबालिका लगायतका व्यक्तिहरु र कारागारमा रहेका कैदी र थुनुवाहरुको मानव अधिकार उलंघन र त्यसको दुरुत्साहन हुन नदिनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र गृह मन्त्रालयलाई आवश्यक कार्य गर्न निर्देशन दिने समितिको आजको बैठकको निष्कर्ष रहेको कुरा यो बैठक समक्ष राख्न चाहन्छु।’

बैठकमा समितिका सदस्यहरुले बाल सुधार गृह र कारागारको व्यवस्थापनमा ध्यान दिन नसकेको भन्दै सरकारको आलोचना गरेका थिए। एमालेका सांसद महेशकुमार बर्ताैलाले बाल सुधार गृहलाई चुस्त बनाउन सरकारको गम्भिर ध्यानाकर्षण गराए। उनले सरकारले अनुगमन नगरेकै कारण बाल सुधार गृहको अवस्था दयनीय भएकाले यसको परिणाममा देखिने गरी सुधारको प्रत्याभूति गराउने काममा ढिलाई गर्न नहुने बताए।

कांग्रेस सांसद जीवन परियारले बाल सुधार गृह र कारागार व्यवस्थापनका लागि आवश्यक योजना तत्काल बनाउन सरकारलाई सचेत गराए। उनले क्षमताभन्दा बढि बालबालिकाहरु र कैदीहरुलाई राख्ने काम गर्न नपाउने भन्दै सरकारको आलोचना समेत गरे।

बाल सुधार गृह बाल बिगार गृहमा परिणत भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले आपत्ति जनाए। उनले लागुऔषध प्रयोगकर्ताहरुका कारण बाल सुधार गृहमा अपराधिक घटनाहरु हुने गरेको भन्ने सरकारको भनाईलाई उद्धृत गर्दै त्यो कसरी सम्भव भयो भनि प्रश्न समेत गरे।

सांसद परियारले भने, ‘यो बाल सुधार गृह नभएर बाल बिगार गृह पो भएछ। त्यही भित्र अपराध हुनु डरलाग्दो घटना हो। एउटा कुरा यहाँ आयो कि लागुऔषध प्रयोगकर्ताहरुबाट बढी त्यो काम भएको छ। कहिले गरेको लागुऔषध प्रयोग? विगतमा लागुऔषध प्रयोग गरेर आएकाहरुबाट त्यो भएको हो? वा अहिले उसले लागुऔषध प्रयोग गर्छ? अहिले पनि लागुऔषध प्रयोग गर्छ भने त्यो कसरी गर्छ? त्यो कसरी सम्भव भयो? यो कुरा हामीले निक्र्यौल गर्नुपर्छ।’

सांसद परियारले सरकारले बाल सुधार गृह भित्र अपराधिक घटना हुन नदिनका लागि आवश्यक व्यवस्था मिलाउन ढिलाई गर्न नहुने पनि पटकपटक दोहोर्याए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .