नेपाली कांग्रेसले आज (कोजाग्रत पूर्णिमाका दिन) चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रम गर्दै छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने चियापानमा दश हजार भन्दा धेरै जनालाई निमन्त्रण गरिएको पार्टी कार्यालयका मुख्यसचिव डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए।
विसं २०३३ सालमा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम गर्दै आएको छ।
सोही परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि कांग्रेस सभापति शेरबहादुर देउवाले चियापान कार्यक्रम आयोजना गरेका हुन्।
४७ वर्षअघिदेखि सुरु गरिएको चियापान यसवर्ष पनि जारी राख्ने निर्णय कांग्रेसले गरेको हो। चियापान कार्यक्रमको सबै तयारी पूरा भएको पौडेलले जानकारी दिए। कोभिड महामारीको बेलामा भने कांग्रेसले चियापान कार्यक्रम गरेको थिएन।
शनिबार दिउँसो १ बजेदेखि साँझ पाँच बजेसम्म चल्ने चियापान कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, प्रमुख राजनीतिक दलका शीर्ष नेता, विदेशी निकायका प्रमुखहरु, कुटनीतिज्ञ लगायतलाई निमन्त्रणा गरिएको कांग्रेसले जनाएको छ।
त्यसैगरी चियापानमा संवैधानिक निकायका प्रमुखहरु, सांसदहरु, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, लेखक, साहित्यकार, कलाकार, उद्योगपति, पेशागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी, विभिन्न संञ्चार माध्यमका प्रमुख, पत्रकार लगायतका बिशिष्ट व्यक्तिलाई पनि निमन्त्रणा गरिएको कांग्रेसले जनाएको छ।
Shares
प्रतिक्रिया