ad ad

राजनीति


अबको चुनावमा गठबन्धन गरे कांग्रेस एक रहँदैन : गगन थापा

अबको चुनावमा गठबन्धन गरे कांग्रेस एक रहँदैन : गगन थापा

फाइल फोटो


नेपालखबर
कात्तिक २, २०८० बिहिबार १४:५४, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अबको निर्वाचन पूर्व कांग्रेसले कुनैपनि गठबन्धन नगर्ने स्पष्ट पारेका छन्। उनले आगामी निर्वाचनमा कांग्रेस गठबन्धन गरेर गएमा कांग्रेस पार्टी एक नरहने बताए।

बिहीवार नेपाल प्रेस युनियन काठमाडौंले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले कुनै एउटा पार्टीले मात्रै सरकार चलाउनुपर्ने बताए।

उनले भने, ‘०८४ सालमा हामी चुनावमा जाँदै गर्दाखेरी हामी गठबन्धनमा जाँदै जाँदैनौँ। कसैले कल्पनै नगरे हुन्छ। गठबन्धन गरेर जान्छु भन्यो भनेदेखि त्यो बेलामा नेपाली कांग्रेस पार्टी एक रहने कुराको कल्पना नगरे हुन्छ। क्लियर कुरा गरेको छ। यसमा कहीँ अलमल छैन। हामी एक्लै जान्छौँ।’

उनले सत्तारुढ गठबन्धनका नेताहरुले राष्ट्रिय सहमतिको सरकार गठनको कुरा गरिरहेको उल्लेख गर्दै राष्ट्रिय सहमतिको सरकार आवश्यक नरहेको बताए। उनले राष्ट्रिय सहमतिको सरकार बनाउँदा झन् धेरै भागबण्डा गर्नुपर्ने अवस्था आउने बताए।

उनले कुनै एक पार्टीलाई मात्र सरकार चलाउन नदिने हो भने सरकार यस्तै अस्तव्यस्त भइरहेको उल्लेख गरे। उनले अहिलेको सरकारको कुनै प्राथमिकता नभएको बताए।

उनले भने, ‘अहिले प्रधानमन्त्रीले के भन्नुहुन्छ बेला बेलामा राम्रो जति मेरो, नराम्रो जति कांग्रेसको। आर्थिक संकट भयो कांग्रेसको मन्त्री छ गर्नै सकेन। भ्रष्टाचारको बारेमा मैले त राम्रो काम गर्न खोजेको थिएँ, तर फलानोले, मन्त्रीहरुले समाचार लेखाइरहेका छन् बेलाबेलामा। मैले त असाध्यै राम्रो काम गर्न खोजेको थिएँ तर कांग्रेसको कारणले गर्दा दिएन। गठबन्धनको सरकार बाध्यता छ।’

उनले थपे, ‘मैले जनार्दनजीले भनेको कुरा सुनेको छु, एकदम गलत भयो राष्ट्रिय सहमतिको सरकार बनाऔँ। भागबण्डा हुँदैन। राष्ट्रिय सहमतिको भनेको झन बढी भागबण्डा हुन्छ। झन् बढीको बिचमा सबैलाई टुक्रा टुक्रा दिनुपर्यो। त्यसैले निर्वाचन अगाडि गठबन्धन नगर्ने। उत्तम बाटो भनेको जसले चलाउने हो, जसको नेतृत्वमा चलाउने हो निश्चित समय उसलाई एक्लै चलाउन दिने।’

उनले निर्वाचन पूर्व गरिने गठबन्धनले लोकतान्त्रिक संस्कृतिलाई विकृत बनाउने बताए। उनले निर्वाचन पूर्वको गठबन्धन सैद्धान्तिक रुपमा गलत रहेको उल्लेख गर्दै कांग्रेसका आगामी महासमिति बैठक निर्वाचन पूर्वको गठबन्धनको विपक्षमा उभिनुपर्ने बताए।

महामन्त्री थापाले वर्तमान सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाएमा नेपाली कांग्रेसले नमान्ने बताए। उनले कांग्रेसले फागुन १ गतेलाई कुनैपनि दिवसको रुपमा स्वीकार नगर्ने प्रष्ट पारे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .