ad ad

राजनीति


प्यालेस्टाइनी अस्पतालमा आक्रमण गरेर इजरायलले मानवीयताको सीमा उल्लंघन गर्‍यो : एमाले

प्यालेस्टाइनी अस्पतालमा आक्रमण गरेर इजरायलले मानवीयताको सीमा उल्लंघन गर्‍यो : एमाले

नेपालखबर
कात्तिक १, २०८० बुधबार १४:४१, काठमाडौँ

नेकपा (एमाले) ले प्यालेस्टाइनी राज्यको एक अस्पतालमा इजरायलले गरेको आक्रमणको तीब्र निन्दा गरेको छ।

प्यालेस्टाइनी राज्यको गाजा शहरको अल अहरी अरब अस्पतालमा गएराति इजरायलले रकेट आक्रमण गर्दा पाँच सय भन्दा धेरैको मृत्यु भएको थियो।

बुधबार अध्यक्ष केपी शर्मा ओलीले एक वक्तव्य प्रकाशित गरी सो आक्रमणको जति निन्दा गरेपनि कम हुने बताएका छन्।

‘निहत्था नागरिक, अस्पतालमा उपचार गराइरहेका बिरामी र स्वास्थ्यकर्मीको ज्यान लिने गरी गरिएको अमानवीय आक्रमणबाट अन्तर्राष्ट्रिय कानुन, मानव अधिकार र मानवीयताका सबै सीमा उल्लङ्घन भएको छ’ वक्तव्यमा भनिएको छ।

यस्तो छ वक्तव्य
गएराती प्यालेस्टाइनी राज्यको गाजा शहरको अल अहरी अरब अस्पतालमा भएको आक्रमणमा परी अस्पतालमा उपचार गराइरहेका बिरामी, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामीका कुरुवा र आफन्त र अस्पताल परिसरमा शरण लिइरहेका नागरिक गरी ५०० भन्दा बढी मारिएको खबरले हामी स्तब्ध भएका छौं।

रकेट आक्रमणबाट ठूलो विस्फोटसहित सिङ्गो अस्पताल भवन नष्ट हुनुका साथै बालबालिकासहित सयौंको सङ्ख्यामा मानिसहरू हताहत भएको विषय जति निन्दा गरे पनि कमी हुन्छ। हामी यस आक्रमणको कडा शब्दमा निन्दा र भर्त्सना गर्दछौँ।

नेकपा (एमाले) शान्तिको पक्षमा छ। जुनसुकै खाले द्वन्द्व र समस्याको समाधान शान्तिपूर्ण वार्ताद्वारा गरिनुपर्छ भन्ने मान्यता राख्दछ। निहत्था नागरिक, अस्पतालमा उपचार गराइरहेका बिरामी र स्वास्थ्यकर्मीको ज्यान लिने गरी गरिएको अमानवीय आक्रमणबाट अन्तर्राष्ट्रिय कानुन, मानव अधिकार र मानवीयताका सबै सीमा उल्लङ्घन भएको छ।

हामी ‘यस किसिमका क्रूर र अमानवीय आक्रमण तत्काल रोकिनुपर्छ। निहत्था नागरिकलाई सुरक्षित गरिनुपर्छ। साथै, उद्धार तथा आपत्कालीन सहयोगका लागि गाजापट्टीमा मानवीय सहायता प्रदायकहरू जानका लागि अनुमति दिनुपर्छु भन्ने मान्यता राख्दछौं। यसप्रकारका सबैखाले आक्रमण रोक्न हामी सम्बन्धित पक्षलाई आह्वान गर्दछौं।

केपी शर्मा ओली
अध्यक्ष

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .