ad ad

राजनीति


एमालेको मधेश अधिवेशन : यी हुन् पदाधिकारीका आकांक्षी

एमालेको मधेश अधिवेशन : यी हुन् पदाधिकारीका आकांक्षी

नेपालखबर
असोज २५, २०८० बिहिबार १३:२५, काठमाडौँ

एमाले मधेशको अध्यक्षमा चार जनाले दाबी गरेका छन्। बुधबारदेखि जनकपुरधाममा सुरु प्रदेश सम्मेलनमा अहिले नेतृत्व चयनको लागि रस्साकस्सी चलिरहेको छ। 

एमाले प्रदेशको नेतृत्वमा सर्लाहीका राजनारायण साह, सिरहाका चन्देश्वर मण्डल, पर्साका बिचारी यादव तथा धनुषाका राजकिशोर यादवले आकांक्षा देखाएका छन्।

वर्तमान प्रदेश अध्यक्ष रामअवतार यादव सिराहा, सुखीपुर नगरपालिकाको प्रमुख भएकाले उनले अध्यक्षमा दोहोरिन नपाउने पार्टीको निर्णयअनुसार अन्य नेता प्रतिस्पर्धामा उत्रिएका हुन्।  

बन्द सत्रमा प्रदेशको नेतृत्व सर्वसहमत चयन गर्ने प्रयास भइरहेको पार्टीका  केन्द्रीय सचिव तथा मधेस इन्चार्ज योगेश भट्टराईले जानकारी दिए।

त्यसैगरी सचिवका लागि सोमप्रसाद शर्मा, लक्ष्मीनारायण यादव र आरती भण्डारी आकांक्षी छन्। प्रचार विभाग प्रमुखसमेत रहेका शर्माका अनुसार अहिले पनि सहमतिमा नेतृत्व चयनको लागि नेताहरुबीछ छलफल भइरहेको छ।

छलफलमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, मधेश इन्चार्ज योगेश भटृराई, कोसी इन्चार्ज रघुवीर महासेठ, धनुषा इन्चार्ज लीलानाथ श्रेष्ठ, महोत्तरी इन्चार्ज जुलीकुमारी महतोलगायत पोलिटब्यूरो सदस्य सहभागी छन्। प्रचार विभाग प्रमुख शर्माले अन्तिम समयसम्म सहमतिकै  लागि पहल हुने दाबी गरे।

पार्टीमा तलदेखि माथिसम्म सबै एक ढिक्का रहेको सन्देश दिने उद्देश्यका साथ सर्वसम्मतिबाट नेतृत्व चयन गर्ने प्रयास भइरहेको नेताहरुले बताएका छन्।

सचिव भटृराईले  सहमति नभए लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन हुने जानकारी दिए। जनकपुरधाम तिरुहतिया गाछीस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्र भवनमा भइरहेको प्रथम अधिवेशनबाट पाँच पदाधिकारीसहित दुई सय ३५ जना निर्वाचित हुने छन्। 

प्रदेश कमिटिमा एक तिहाइ महिला अनिवार्य गरिएकामा दलित, महिला, मुस्लिम, मजदुर, जनजाती र खुल्ला भूगोलबाट प्रतिनिधित्व रहने छ।

उत्त प्रदेशको आठ जिल्लामा चार/चारवटा निर्वाचन क्षेत्रबाट २० सदस्य र सङ्गठनको आधारमा पाँचदेखि १० जना थप गरी अधिवेशनका लागि खुल्ला तथा विभिन्न क्लस्टरबाट एक हजार २७ प्रतिनिधि छनोट गरिएको छ। 

उक्त अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबार उद्घाटन गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .