ad ad

राजनीति


बीआरआईमा तीन मन्त्रीलाई निम्तो, एकहप्ता अघिसम्म छैन चीन जाने टुंगो

बीआरआईमा तीन मन्त्रीलाई निम्तो, एकहप्ता अघिसम्म छैन चीन जाने टुंगो

नेपालखबर
असोज २४, २०८० बुधबार १६:४३, काठमाडौँ

चीनको राजधानी बेइजिङमा आगामी हप्ता हुने तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागिताका लागि तीन जना मन्त्रीले निम्तो प्राप्त गरेका छन्।

परराष्ट्र स्रोतका अनुसार, गृहमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उर्जामन्त्री शक्तिबहादुर बस्नेत र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई चीन सरकारले निम्तो दिएको हो।

तेस्रो बीआरएफ ३० असोज–१ कार्तिक (१७–१८ कार्तिक) मा बेइजिङमा हुँदैछ। यस हिसावले फोरमको उद्घाटन मिति आउन हप्ता दिन पनि बाँकी छैन।

तर, सो फोरममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व कसले गर्ने भन्ने टुङ्गो बुधबार साँझसम्म पनि सरकारले लगाउन सकेको छैन।

तेस्रो बीआरआई फोरमका लागि चीनले सरकार प्रमुख तहकै सहभागिता चाहेको थियो। तर, एसियाली खेलकूद प्रतियोगिताको उद्घाटन समारोहमा सहभागिताका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले अघिल्लो महिना नै चीन भ्रमण गरेकाले त्यसमा उनी सहभागी हुने छैनन्।

विसं २०७६ मा भएको दोस्रो बीआरआई फोरममा तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई निम्त्याएको चीनले यसपटक राष्ट्रपति रामचन्द्र पौडेललाई निम्तो नै दिएको छैन।

उपप्रधानमन्त्री श्रेष्ठसहित मन्त्रीद्वय बस्नेत र ज्वालालाई निम्तो प्राप्त भएपनि फोरममा को–को सहभागी हुने भन्ने निर्णय मन्त्रिपरिषदले गर्नुपर्ने हुन्छ। तर, एक हप्ता बित्न लागिसक्दा समेत जाने मन्त्रीको टुङ्गो सरकारले लगाउन सकेको छैन।

नेपालको तर्फबाट चीन जाने मन्त्रीको टुङ्गो गत आइतबारको मन्त्रिपरिषद बैठकबाट लगाउने भनिएको थियो। तर, इजरायलमा भएको हमासको आक्रमणका कारण मन्त्रिपरिषदको आकस्मिक बैठक त्यसैतर्फ केन्द्रित हुन पुग्यो। जसका कारण तेस्रो बीआरएफमा सहभागी हुने मन्त्रीहरुको नामका विषयमा मन्त्रिपरिषद्मा त्यस दिन छलफल नै भएन।  

स्रोतका अनुसार, बीआरएफमा उपप्रधानमन्त्री श्रेष्ठ र मन्त्री ज्वाला सहभागी हुने सम्भावना ज्यादा छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .