राजनीति


विद्यालय शिक्षा विधेयक : गठबन्धनमा छलफल गरेर मात्रै माओवादीले संशोधन प्रस्ताव दर्ता गर्ने

संयुक्त राष्ट्रसंघका महासचिवले प्रतिनिधिसभामा सम्बोधन गर्दै
विद्यालय शिक्षा विधेयक : गठबन्धनमा छलफल गरेर मात्रै माओवादीले संशोधन प्रस्ताव दर्ता गर्ने

नेपालखबर
असोज २२, २०८० सोमबार १५:४५, काठमाडौँ

सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसदहरूले सर्वदलीय बैठकको निचोड र सत्तारुढ गठबन्धनसँग छलफल गरेर मात्रै विद्यालय शिक्षा विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने भएको छ। 

सोमबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले आजै प्रधानमन्त्रीले बोलाएको सर्वददीय बैठकमा पनि विद्यालय शिक्षा विधेयकको सम्बन्धमा छलफल हुने भन्दै सो छलफलको निचोडपछि मात्रै विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय भएको हो।

त्यस्तै संशोधन प्रश्ताव दर्ता अघि सत्तारुढ गठबन्धनका दलहरुसँग पनि कुराकानी गर्ने निर्णय भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। विधेयक विषयगत समितिमा आएपछि त्यसबारे थप छलफल गर्ने पनि उनले बताए। 

‘विद्यालय शिक्षा ऐनबारे हिजोदेखि संशोधन राख्नको लागि ७२ घण्टाको समय सुरु भइरहेको छ। त्यो संशोधन कसरी राख्ने? त्यसका बारे आज मुख्य छलफल थियो। प्रधानमन्त्रीले सर्वदलिय बैठक, सबै प्रमुख सचेतकहरुलाई लाई पनि प्रधानमन्त्री कार्यालयमा बोलाउनुभएको छ। त्यसैमा नेपालको विद्यालय शिक्षालाई कसरी लैजान सकिन्छ भन्ने बारेमा पनि छलफल हुन्छ,’ उनले भने, ‘त्यहाँपनि मोटामोटी विषयवस्तुहरू अगाडी बढ्छन्। त्यसबाट के निचोड निस्किन्छ त्यसको आधारमा हामी अझै सत्तापक्षका सबै गठबन्धन दलहरुसँग कुराकानी गरेर यसमा हामीले संशोधन राख्नुपर्छ भन्ने कुरा भएको छ। संशोधनहरुले माननीयहरुले आ–आफ्नो ठाउँबाट पनि राख्ने। समितिमा व्यापक छलफल गर्दा थप कुरा गर्दै जाउँला भन्ने कुरा भयो।’

त्यसैगरी बैठकमा संयुक्त राष्ट्रसंघका महासचिवले असोज २७ गतेको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएकाले सो दिन सबैले सहभागिता जनाउने कुरा पनि भएको उनले बताए। 

संसद्को चालु अधिवेशन अन्त्यपछि सांसदहरुले जनतासँग जोडिने काम गर्न र सरकारले गरेका कामहरु जनतालाई जानकारी दिन पनि भनिएको उनले जानकारी दिए।

‘संयुक्त राष्ट्रसंघका महासचिव नेपाल आउँदै हुनुहुन्छ। उहाँले २७ गते शनिबार ४ बजे संघीय संसदलाई सम्बोधन गर्दै हुनुहुन्छ। त्यसमा सहभागिता जनाउने कुरा भयो। दोस्रो अधिवेशनको अन्त्य पछि माननीयहरू आ–आफ्नो कार्यक्षेत्रमा जानुपर्ने हुन्छ, जनतासँग जोडिने, सरकारले गरेका कामहरुका बारेमा जनतालाई जानकारी दिने र जनताको टिप्पणी लिएर फेरी सदनमा प्रस्तुत हुने भनिएको छ,’

प्रमुख सचेतक पाण्डेले बैठकले इजरायलमा निधन भएका नेपालीहरुप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गरेको बताए।

घटनामा परि घाइते भएकाहरुको उपचार, नेपाल फर्किनेहरुलाई नेपाल फर्काउन र शव ल्याउनका लागि पहलकदमी लिन सरकारलाई अनुरोध गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .