ad ad

राजनीति


एमाले गण्डकीको चुनावी प्रक्रिया आजबाट सुरु हुँदै

एमाले गण्डकीको चुनावी प्रक्रिया आजबाट सुरु हुँदै

नेपालखबर
असोज १८, २०८० बिहिबार ९:१३, गण्डकी

एमाले गण्डकी प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज (बिहीबार) बाट निर्वाचन प्रक्रिया सुरु भएको छ। 

गएको सोमबारदेखि पोखरामा सुरु भएको एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनमा सर्वसम्मत ढंगले नयाँ नेतृत्व चयन हुन नसकेपछि निर्वाचन हुन लागेको हो। 

निर्वाचन समितिले उम्मेदवारी फिर्ताको समयावधि बिहीबार बिहानसम्मको लागि तय गरेको छ। 

उम्मेदवारी फिर्तापछि सम्भवतः आज दिउँसोबाट चुनावी प्रक्रिया सुरु हुने सम्भावना रहेको निर्वाचन समितिले जनाएको छ।

विद्युतीय मतदान हुने भएकाले परिणाम आउन भने समय लाग्नेछैन। चुनावमा ९०७ जना प्रतिनिधिले मतदान गर्नेछन्।

गण्डकी प्रदेश अध्यक्षको लागि निवर्तमान अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारी मैदानमा छन्। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्यानल बनाएर निर्वाचन नगर्न भने पनि उनीहरु प्यानलसहित निर्वाचनमा होमिएका छन्। शर्मालाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको साथ छ।

अधिकारीको पक्षमा स्थायी समिति सदस्य खगराज अधिकारी देखिएका छन्। अधिकारीलाई एमाले महासचिव शंकर पोखरेलको पनि आशीर्वाद छ। 

म्याग्दीका शर्माको प्यानलबाट उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङ, सचिवमा लमजुङका धनञ्जय दवाडी, महिला उपसचिवमा पर्वतका मञ्जु अधिकारी र अर्का उपसचिवमा कास्कीका दामबहादुर विकले उम्मेदवारी दर्ता गराएका छन्। 

यता, लमजुङका अधिकारीको प्यानलबाट उपाध्यक्षमा नवलपुरका बाबुराम विक, सचिवमा कास्कीका रश्मि आचार्य, महिला उपसचिवमा कास्कीका मीना गुरुङ र अर्को उपसचिवमा म्याग्दीका सन्तोष रावलले उम्मेदवारी दिएका छन्।

लेखा आयोगको अध्यक्षमा शर्माको प्यालनबाट नवलपुरका अमृत ज्ञवाली, उपाध्यक्षमा गोर्खाका गिरधारी सापकोटा र सचिवमा बागलुङका वीरबहादुर बिकले उम्मेदवारी दिएका छन्। 

अधिकारीको प्यानलबाट अध्यक्षमा बागलुङका रामबहादुर जिसी, उपाध्यक्षमा शिवजी पौडेल र सचिवमा वैकुण्ठनाथ आचार्यले उम्मेदवारी दिएका छन्।

२३ जना निर्विरोध
एमाले गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनमा नवराज शर्मा टिमबाट २३ जना गण्डकी प्रदेश कमिटी सदस्य निर्विरोध निर्वाचित भएका छन्। 

संघीय निर्वाचन क्षेत्रतर्फ मनाङबाट चीनबहादुर घले, मुस्ताङका इन्द्रधारा विष्ट, म्याग्दीबाट हरिकृष्ण श्रेष्ठ, गोरखा संघीय निर्वाचन क्षेत्र १ बाट टीकानारायण श्रेष्ठ र २ बाट हरि काफ्ले निर्विरोध निर्वाचित भएका छन्।

लमजुङमा भूगोल खुलातर्फ प्रेमबहादुर घले र फूलबहादुर थापा, दलितबाट नन्दराम विक र महिलाबाट लक्ष्मी अधिकारी र विष्णुमाया राना निर्विरोध भएका छन्। 

म्याग्दी भूगोलबाट किरण सापकोटा र तिलक विक, दलिततर्फ पुष्कर विक निर्वाचित भएका छन्। नवलपुरबाट दलिततर्फ कृष्णबहादुर विक निर्वाचित भएका छन्।

बागलुङबाट भूगोलबाट लीला राना र टंकप्रसाद शर्मा,अल्पसंख्यक महिलाबाट सुनकुमारी भुजेल, जनजाति खुल्ला महिलाबाट निर्मला थापा, लालसुब्बा गुरुङ र जोगमाया महतो निर्विरोध निर्वाचित भएका छन्। 

यस्तै, मजदुर महिलाबाट संगीता पाण्डे निर्विरोध निर्वाचित भएकी छन्। लेखा समिति सदस्यतर्फ मञ्जु केसी र रेखा पौडेल निर्वाचित भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .