ad ad

राजनीति


चारसिटे लोसपामा पद फालाफाल : नेताका सम्धी-सम्धिनी, छोरी-ज्वाइँ र भतिजासम्म बने पदाधिकारी

महासचिव पद फिर्ता गर्ने अनिल महासेठको घोषणा
चारसिटे लोसपामा पद फालाफाल : नेताका सम्धी-सम्धिनी, छोरी-ज्वाइँ र भतिजासम्म बने पदाधिकारी

फाइल तस्बिर


नेपालखबर
असोज ८, २०८० सोमबार १८:११, काठमाडौँ

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले केन्द्रीय समिति विस्तार गर्दै ३११ सदस्यीय बनाएको छ।

यसरी अजंगको संगठन बनाउने क्रममा लोसपाले १६ जना महासचिव, १५ जना उपाध्यक्ष र ६३ जनालाई पदाधिकारी नै बनाएको छ।

२०७९ मंसिरको चुनावमा राष्ट्रिय दलको हैसियत गुमाएको लोसपाको संगठन यति अजंगको छ कि  तीन ठूला नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पनि भेट्टाउन सक्दैनन्। 

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा विवाद भएपछि खोलिएको नयाँ पार्टीले सोमबार गरेको संगठन विस्तारका क्रममा नेताहरुका नातागोतालाई समेत पदाधिकारी पद दिइएको छ। 

संगठन विस्तारका क्रममा अध्यक्ष ठाकुरले आफ्ना सम्धीसमेत रहेका नेता उमाकान्त झालाई वरिष्ठ उपाध्यक्ष बनाएका छन्। 

उता ठाकुरकै सम्धिनी एवम् पूर्वसांसद इन्दिरा झालाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ। ठाकुरले आफ्नी छोरी डा. मिनाक्षी ठाकुरलाई पनि केन्द्रीय समिति सदस्य बनाएका छन्। 

उता वरिष्ठ नेता बनाइएका शरदसिंहकी छोरी पनि लोसपा नेतृत्वमा आएकी छन्। शरदसिंहकी छोरी सृष्टि सिंह भण्डारीलाई लोसपाले सचिव बनाएको छ।

अर्कातिर तीन वरिष्ठ नेतामध्ये एक राजेन्द्र महतोका ज्वाइँ अनिल महासेठलाई महासचिव बनाइएको छ। महतोका भतिजा उपेन्द्र महतो पनि महासचिव बनाइएका छन्।

महासठेको आक्रोश
यसैबीच महासचिव बनाइएका अनिल महासेठले लोसपाले गरेको संगठन विस्तारमा गम्भीर असन्तुष्टि जनाएका छन्। 

उनले लाखौँ प्रतिबद्ध नेता कार्यकर्ता र बहिस्करणमा परेका शोषित, पीडितहरुको आशा, भरोसाको केन्द्र  लोसपालाई संगठन विस्तारका नाममा बिगारिएको बताएका छन्। 

विस्तार गरिएको केन्द्रीय समितिमा आफूलाई महासचिव जस्तो जिम्मेवारी दिएकोमा आभार व्यक्त गर्दै उनले तर अन्य कयौँ  नेता कार्यकर्ताको अवमूल्यन  भएको बताएका छन्। 

‘पार्टीमा जिम्मेवार साथीहरूको अवमूल्यन हुनु, उचित स्थान पाउन नसक्नु दु:खद अवस्था हो। म महासचिवको अपेक्षाकृत थिइनँ र छैन पनि’, उनले भने, ‘अहिलेको परिस्थितिमा लोसपाको केन्द्रीय महासचिव पदमा मेरो नाम हटाएर अन्य जिम्मेवार साथीलाई उक्त पद दिन आदरणीय पार्टी अध्यक्षसँग  आग्रह गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .