प्रतिनिधिसभाको रिक्त उपसभामुख पद राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पाउने लगभग पक्का भएको छ।
सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा उपसभामुख राजपालाई दिने सहमति बनेको बालुवाटार स्रोतले नेपालखबरलाई जानकारी दियो।
आइतबार अध्यक्षद्वय ओली र प्रचण्डबीच भएको ४ घण्टा लामो छलफलबाट राजपालाई उपसभामुख दिन दुबै नेता तयार भएका हुन्।
बिहीबार भएको राष्ट्रियसभाको चुनावको लागि प्रदेशमा २ मा रहेका राजपा अध्यक्षमण्डलका नेताहरुमध्ये केही शनिबार र केही आइतबार काठमाडौं फर्किएका छन्।
स्रोतका अनुसार अध्यक्षमण्डलका संयोजक महेन्द्रराय यादव र सदस्य राजेन्द्र महतो लगायतका नेताहरुसँग प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले वार्ता गरेपछि राजपाले यसबारे औपचारिक निर्णय गर्नेछ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि उपसभामुखमा दाबी गर्दै आएको थियो। माघ ७ गते कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रचण्ड निवास खुमलटार पुगेर प्रचण्डसँग यसबारेमा छलफल पनि गरेका थिए।
शनिबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस नेताहरुसहित नेकपाका दुई अध्यक्षबीच छलफल भएको थियो। उक्त छलफलमा समेत उपसभामुखको बारेमा चर्चा भएपनि प्रधानमन्त्री ओलीले कांग्रेसलाई दिने इच्छुक नभएपछि त्यसबारेमा कुनै समझदारी बन्न नसकेको स्रोतको भनाई छ।
बिहीबार भएको राष्ट्रियसभाको निर्वाचनका लागि नेकपा र राजपाबीच पुस २ गते नै चुनावी गठबन्धन गर्ने सहमति भएको थियो। सो सहमतिअनुसार प्रदेश २ बाट राष्ट्रिय सभामा निर्वाचित हुने चार सिटमध्ये २–२ सिट बाँड्ने सहमति बनेको हो।
चुनावमा दुवैतर्फबाट सहमतिअनुसार इमान्दारीपूर्वक मत खसेपछि दुई पक्षबीच त्यसपछि सम्बन्ध थप सहज भएको नेताहरुले बताए।
राष्ट्रिय सभा निर्वाचनको नतिजापछि नेकपाले राजपालाई सरकारमा ल्याउनेगरी उपसभामुख दिने वातावरण बनेपनि राजपाका नेताहरु भने त्यसबारेमा अहिले नै खुल्न नचाहेको बताउँछन्।
उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले माघ ६ गते राजीनामा दिएपछि उपसभामुख पद रिक्त छ। आइतबार संसदमा सभामुख पदको चुनाव सकेपछि उपसभामुखको चुनावी कार्यतालिका सार्वजनिक गर्ने संसद सचिवालयले जनाएको छ।
संविधानमा एउटै दलबाट सभामुख र उपसभामुख बन्न नपाउने प्रावधान छ। असोज १४ गते बलात्कार प्रयासको आरोप लागेपछि तत्कालिन सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका थिए।
महराले राजीनामा दिएपछि संसदको ठूलो दल भएकोले फेरि पनि सभामुखमा नेकपाले दाबी गरेपछि नेकपाबाटै उपसभामुख रहेकी तुम्बाहाङ्फेलाई नेकपाले राजीनामा गराएको हो।
उपसभामुखमा कसलाई पठाउने भन्ने बारेमा भने राजपा आन्तरिक छलफलमा रहेको राजपाका अध्यक्षमण्डलका एक सदस्यले नेपालखबरलाई जानकारी दिए।

प्रतिक्रिया