ad ad

राजनीति


राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका राजदूतबीच शिष्टाचार भेट

राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका राजदूतबीच शिष्टाचार भेट

नेपालखबर
असोज १, २०८० सोमबार १५:७, काठमाडौँ

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गरेका छन्।

सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा आज सोमबार दिउँसो भएको भेटमा द्विपक्षीय हित, मैत्रीपूर्ण सम्बन्ध र उच्चस्तरीय भ्रमण लगायतका विषयमा छलफल भएको छ।

भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल र अष्ट्रेलियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै अत्यन्तै सुमधुर र सहयोगात्मक सम्बन्ध रहेको उल्लेख गरे।

उनले धेरै नेपाली विद्यार्थीहरूको आकर्षक शैक्षिक गन्तब्यको रुपमा अष्ट्रेलिया पर्न थालेको बताउँदै नेपाली विद्यार्थीलाई दिईने छात्रवृत्तिको संख्या बढाउँदा त्यसबाट धेरै विद्यार्थीहरू लाभान्वित हुन सक्ने बताए।

विद्यार्थीहरू सँगै विभिन्न पेशा र ब्यवसायमा संलग्न ठूलो संख्यामा नेपालीहरू अष्ट्रेलियामा रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले अष्टे«लिया र नेपालका बिचमा सिधा हवाई उडान सञ्चालन गर्न सकेमा त्यसबाट दुवै देशले लाभ लिन सक्ने कुरामा जोड दिए। 

अध्यक्ष तिमिल्सिनाले आपसी विश्वास, समझदारी र पारस्परिक सहयोगमा आधारित दुई देशबीच रही आएको मैत्रीपूर्ण सम्बन्ध पछिल्ला दिनहरुमा अझ फराकिलो र गहिरो बन्दै गएकोमा खुशी पनि व्यक्त गरे। 

राजदूत भोल्कले अष्ट्रेलियामा एक लाख ३० हजारभन्दा बढी नेपालीको बसोबास रहेको बताउँदै क्यानबेरामा बढी बोलिने भाषामा नेपाली भाषा तेस्रो स्थानमा रहेको समेत जानकारी गराए।

राजदूत भोल्कले नेपाललाई अष्ट्रेलियाले उच्च प्राथमिकतामा राखेको बताउँदै आगामी अक्टूबरमा अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुखको नेपाल भ्रमणबारे जानकारी गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .