ad ad

राजनीति


जातीय छुवाछुत र महिला– पुरुषबीच विभेद गर्ने कांग्रेस हुन सक्दैन : गगन थापा

जातीय छुवाछुत र महिला– पुरुषबीच विभेद गर्ने कांग्रेस हुन सक्दैन : गगन थापा

नेपालखबर
भदौ २७, २०८० बुधबार १६:१४, पोखरा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जसले छुवाछुतमा विश्वास गर्छ, जसले महिला र पुरुषबीच विभेद गर्छ त्यो कांग्रेस हुनै नसक्ने बताएका छन् ।

‘मैले मान्ने धर्मले छुवाछुत मान्दैन, महिला र पुरुषबीच विभेद गर्दैन, त्यस्तो कसले बनायो? हामीले बनाएको हो, नेपाली कांग्रेसले त्यो विभेद मान्दैन,’उनले भने,‘ बीपीले नेतृत्व गरेको पार्टीले त्यो कुरा मान्दैन।’

नेपाली कांग्रेस पोखरा महानगर समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गदै उनले सो कुरा बताएका हुन्।

उनले विविधता नेपालीको पहिचान भएको बताउँदै अगाडि भने,‘बीपी कोइरालाले आफ्नो मन्त्रिपरिषदमा पूर्वको लिम्बु, दलित, महिला, नेवार सबैलाई समेट्नुभयो, त्यो विविधताको सम्मान हो।’

उनले २००७ सालको सशस्त्र क्रान्त्रिअघि नै कांग्रेसले तागादारी र तागा नलगाउनेलाई एउटै भान्छामा राखेर खाना खाएको अनि ब्राह्मणले हलो जोतेर परिवर्तनको सन्देश दिएको पनि बताए। उनले विविधताको रक्षा भनेको जातीय राज्य र विभाजन नभएको पनि बताए।

संघीय संसदमा सवैभन्दा ठूलो, प्रदेशमा पनि उस्तै अनि ६ सयभन्दा बढी स्थानीय तहको नेतृत्व गरेका नेपाली कांग्रेसले सत्ताको भन्दा निष्ठाको राजनीति गर्ने जिकिर गर्दै उनले कांग्रेसलाई सत्ता गौण र विचार महत्वपूर्ण भएको दाबी पनि गरे।

कांग्रेस कार्यकर्तामाझ उनले नेपालको विविधता, कांग्रेसले लिएको नीति र राष्ट्रिय परिदृष्यबारे दार्शनिक मन्तव्य दिँदैछन्। उनले बीपी कोइरालाले प्रधानमन्त्री भएको ४ महिनामै भूमि सुधार कार्यक्रम अगाडि ल्याएको स्मरण गर्दै भूमिहीनलाई भूमि दिलाउन कांग्रेसले त्यही बेलादेखि अभियान थालेको पनि बताए।

उनले मध्यावधि निर्वाचन ठूलो भूल भएको र मध्यावधि निर्वाचन नभएको भए माओवादीको उदय नै नहुने जिकिर पनि गरे। यद्यपि, गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले आर्थिक समृद्धिका आधारहरु तयार पारेको पनि बताए।

अख्तियारलाई काम गर्न दिऊँ
बुधबारै भएको एक अर्को कार्यक्रममा महामन्त्री थापाले भ्रष्टाचार नेपालको सवैभन्दा ठूलो रोग भएको बताउँदै त्यसलाई निर्मूल पार्न अख्यितयारलाई बलियो बनाउनुपर्ने पनि बताए।

‘हामी कांग्रेसका सांसदहरु  भ्रष्टाचारविरुद्धको अभियानमा लाग्ने हो भने,अख्तियारलाई बलियो बनाउने हो र तेरो र मेरो नभनेर छानबिन गर्ने हो भने भ्रष्टाचार निर्मूल पार्न सकिन्छ,’ बुधबार नेपाली कांग्रेस पोखरा महानगरको दोस्रो नगर सम्मेलनमा बोल्दै उनले भनेका छन्,‘ अख्तियारलाई पाकिस्तानमा जस्तो दुरुपयोग पनि नहोस्, ओलीजीको पनि देखियो ,त्यो बेलाको जस्तो नहोस्, आज यता सरुवा, उताको मान्छे यता पनि नगरियोस्।’

उनले नेपाली कांग्रेसले नेतृत्व गरेका प्रत्येक तहका सरकार भ्रष्टाचारको मामिलामा निर्मम र विकास निर्माणको कार्यमा अब्बल हुनुपर्ने पनि बताए ।

‘पोखराका मेयरको हकमा पनि यही हो, राम्रो काम गर्नुभएको छ भने समर्थन गर्ने हो, नभए हिजो सँगै हिँडेको थियौं भनेर समर्थन गर्ने हैन,’उनले भने।
पोखरामा गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का नेता धनराज आचार्य मेयर छन्।

‘कांग्रेसको अन्तरिक चुनाव महंगो, गुटले पार्टी भताभुंग’
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसको आन्तरिक चुनाव महँगो हुँदै गएको र गुटगत प्रतिस्पर्धाले भताभुङ्ग भएको बताएका छन् ।

पार्टीका वरिष्ठ नेता डा. शेखर कोइरालाले सभापति एकातिर र महामन्त्रीहरु अर्कोतिर भएपछि पार्टी चल्छ त? भन्ने प्रश्न गरेकै बेला उनले पार्टीमा गुटबन्दी हुँदा चुनाव महँगो भएको, विधि र प्रक्रिया लत्याइएको जिकिर गरेका हुन्।

‘गुट मिल्यो भने सबै मिल्छ, मिलेन भने सबै तितरबितर,’ लुम्बिनी प्रदेशको उदाहरण दिँदै उनले भने, ‘यहाँ गुट मिले ७ सय जनाको समिति बन्छ, नभए हुँदैन। म यो विषयमा कसैलाई दोष दिन त चाहन्नँ,म आफैं महामन्त्री छु।’

उनले पार्टीलाईं बलियो बनाउन सदस्यता प्रणालीमै सुधार गर्नुपर्ने बताएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .