नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ सोमबार (भदौ २५) दिनभरमै घरमै बसेका थिए।
सामान्य ज्वरो आएको भन्दै उनले दिनभरका कार्यक्रम स्थगित गरेका थिए।
सामान्य ज्वरो भए पनि उनलाई गाह्रो भएको थिएन तर, थप ज्वरो बढ्न नदिन एकदिन रेस्ट गर्छु भनेका थिए।
नेम्वाङका स्वकीय कृष्ण काफ्लेका अनुसार नेम्वाङ सोमबार दिनभर पूर्ण आराम गरिरहेका थिए।
साँझ काफ्लेले कुराकानी गर्दा कुनै समस्या नभएको बताएका थिए।
‘खासै गाह्रो भएको छैन, ज्वरो घट्दै गइरहेको छ,’ नेम्वाङले भनेका थिए।
तर, मंगलबार बिहानै (१ बजेतिर) नेम्वाङ ट्वाइलेटमा अचेत भएर ढलेको अवस्थामा भेटिएपछि उनका ड्राइभरले हतार हतार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याए।
इमर्जेन्सीमा उपचार गर्दागर्दै नेम्वाङको निधन भएको अस्पतालले घोषणा गर्यो।
‘सामान्य खाना खाएर सुतेको केही घण्टा मात्रै भएको थियो, नेम्वाङ ट्वाइलेट जानुभएको रहेछ, त्यही बेला चक्कर लागेर हो कि कसरी ढल्नुभएछ,’ काफ्लेले थपे, ‘उहाँलाई यस्तो गराउने ज्वरो दिनभर आएको थिएन। यस्तो होला भनेर हामीले सोचेका पनि थिएनौँ।’
शिक्षण अस्पतालले नेम्वाङको निधन हृदयघातबाट भएको पुष्टि गरको छ।
Shares

प्रतिक्रिया