ad ad

राजनीति


कोशी सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा : आज मुख्यमन्त्री पक्षका वकिलहरूले बहस गर्ने

कोशी सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा : आज मुख्यमन्त्री पक्षका वकिलहरूले बहस गर्ने

नेपालखबर
भदौ १९, २०८० मंगलबार १०:१७, काठमाडौँ

कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको दाबी गरी सर्वोच्च अदालतमा हालिएको मुद्दाको सुनुवाइ आज पनि पूर्ण इजलासमा जारी रहनेछ। 

न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीसहितको पूर्ण इजलासमा सोमबार सुरु सुनुवाइ नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखेर बहसलाई आज पनि निरन्तरता दिइने भएको हो। 

आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले कोशी सरकारविरुद्धको रिट निवेदनलाई पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो।

एमाले प्रदेशसभा संसदीय दलका नेता हिक्मत कार्कीले कांग्रेसका थापाले बैठकको अध्यक्षता गरिरहेका सांसदले समेत मतदान गरेर लिएको विश्वासको बदर गर्न माग गर्दै दायर रिट निवेदनमा सोमबार निववेदक पक्षका वकिलले बहस गरेका थिए।

बहसमा सहभागी सबैजसो अधिवक्ताले ज्येष्ठ सदस्यको हैसियतमा प्रदेशसभा बैठकको अध्यक्षता गर्नु सभामुख समानकै भूमिका भएको जिकिर गरेका छन्। यसैले संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको नेतृत्वमा सरकार बनाइनुपर्ने उनीहरूको माग छ। 

कोशी प्रदेशका मुख्यमन्त्री थापाले यही भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिँदा सभाको अध्यक्षता गरेका सांसद इस्माइल मन्सुरले पनि मत दिएका थिए। 

यसविरुद्ध नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट निवदेन दिएका हुन्। उनले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएका छन्।

एमाले नेता कार्कीका पक्षबाट सोमबार बहस सकिएको छ। उनका पक्षमा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, कृष्णभक्त पोखरेल, सुरेन्द्र भण्डारी, राजेन्द्र घिमिरेलगायतले बहस गरेका थिए।

अब आज मुद्दाका विपक्षी मुख्यमन्त्री थापाका वकिलहरूले बहस गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .