राजनीति


हरि ढकालको आक्रोश : एउटा क्रिकेट स्टेडियम छैन, मुख्यमन्त्रीलाई सुत्न काठमाडौंमा आलिसान दरबार

खेलाडीले एक पेट खाएर देशको इज्जत धानिदिए
हरि ढकालको आक्रोश : एउटा क्रिकेट स्टेडियम छैन, मुख्यमन्त्रीलाई सुत्न काठमाडौंमा आलिसान दरबार

फाइल तस्बिर


नेपालखबर
भदौ १८, २०८० सोमबार १४:२८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नेपाली खेलाडीहरुको आर्थिक दुरावस्थाको चित्र सोमबारको प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेका छन्। 

प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्ने क्रममा उनले अहिलेसम्म नेपालको खेल क्षेत्र खेलाडी र उनका अभिभावकको बलबुताले टिकेको बताए। 

‘नेपालको खेल इतिहास र खेल क्षेत्र जोगाएको छ भने त्यो खेलाडीको बलबुता र अभिभावले गर्दा हो। भारतसँग हाम्रा खेलाडी उत्रिँदै गर्दा हाम्रा खेलाडीको हालत के छ?’, उनले भने, ‘भारतीय खलाडीको अवस्था कस्तो छ? उनीहरुसामु हाम्रा खेलाडी कसरी खेलिरहेका छन्?  सरकारले यसबारे कहिले सोचेको छ?’

ढकालले भारतीय र बंगलादेशी खेलाडीले पाउने तलबको फेहरिस्त पनि प्रस्तुत गरेका छन्।

‘भारतका ए प्लस खेलाडीका लागि राज्यले ७ करोड भारु तलब दिन्छ। ए लाई ५ करोड भारु तलब दिन्छ। बंगलादेशले ए प्लस खेलाडीलाई वार्षिक ५७ हजार डलर दिन्छ’, उनले भने, ‘तर हाम्रा खेलाडीमा 'ए' लाई ६० हजार,'बी'लाई ४५ हजार र 'सी'लाई ३० हजार दिने गरेको छ। राज्य यस्तो छ, अहिलेसम्म खेलाडीले एक पेट खाएर हाम्रो इज्जत धानेका छन्।’

उनले खेलाडीको यो तथ्यांक प्रस्तुत गर्दा लाजलाई पनि लाज लाग्नुपर्ने हो भन्दै सरकारमाथि व्यंग्य कसे।

‘क्रिकेटहरुबारेमा नेताहरुको भाषण सुन्दै गर्दा, शुभकामना दिँदै गर्दा जनताले खिसीट्युरी गरिरहेका छन्। किन नगरुन् त?’, उनले भने, ‘यही हालतले गर्दा हो। एउटा अन्तर्राष्ट्रिय स्टेडियममा लाइट हाल्दैन, स्टेडियम बनाउँदैन सरकार। बनाउँछ त भैंसेपाटीतिर मुख्यमन्त्रीलाई सुत्न आलिशान महल, भब्य दरबार।’ 

ढकालले यतिका दशक बितिसक्दा पनि स्टेडियम बनाउन नसक्ने तर मुख्यमन्त्रीलाई सुत्न दरबार बनाउने भन्दै सरकारमाथि पटक पटक प्रहार गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .