ad ad

राजनीति


अर्थमन्त्री महत जीईएफको सातौँ विश्व सम्मेलनमा सहभागी

जलवायु परिवर्तनबाट नेपालले सामना गर्नुपरेका समस्याबारे छलफल
अर्थमन्त्री महत जीईएफको सातौँ विश्व सम्मेलनमा सहभागी

नेपालखबर
भदौ ७, २०८० बिहिबार १२:२५, भ्यानकुभर (क्यानाडा)

अर्थमन्त्री डा. प्रकाशशरण महत आज ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७औं विश्व सम्मेलनमा सहभागी भएका छन्। 

क्यानाडाको भ्यानकुभरमा आयोजित सम्मेलनमा सहभागी हुँदै उनले विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रमुख तथा प्रतिनिधिसँग द्विपक्षीय विषयमा छलफल गरेका छन्।

सो अवसरमा उनले विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ) का प्रमुख संरक्षण अधिकृत निक शेखरन, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) प्रशासक अकिम स्टिनर तथा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) की निर्देशक डा. ग्रेथल अग्वीलरसँग जलवायु परिवर्तनले पारेको विश्वव्यापी प्रभाव तथा नेपालले सामाना गर्नुपरेका चुनौती एवं त्यसको न्यूनीकरण गर्ने उपायबारे छलफल गरे। 

द्विपक्षीय बैठकका क्रममा अर्थमन्त्री डा. महतले वातावरण संरक्षणको क्षेत्रमा नेपालले गरेका प्रयास तथा उपलब्धिबारे प्रकाश पारे। त्यसैगरी मन्त्री महतले नेपालले सामुदायिक वनको अवधारणाबाट वनले ओगटेको क्षेत्रफल झण्डै ४५ प्रतिशत पुर्‍याएको, पछिल्लो दशकमा बाघको संख्या तेब्बर बढेको तथा गैंडाको संख्या झण्डै दोब्बर वृद्धि भएको जानकारी दिए। 

साथै उनले नेपालमा मानव र जंगली जनावरबीच द्वन्द्वको सिर्जना भएको र  यसबाट धनजनको क्षति तथा यसका लागि ठूलो स्रोतसाधन खर्च गर्नुपरेको जानकारीसमेत दिए। यसैगरी मन्त्री महतले वन तथा वन्यजन्तु संरक्षणका लागि वन्यजन्तु आवतजावतमैत्री पूर्वाधार निर्माणका साथै मानव वन्यजन्तु द्वन्द्वका कारण प्रभावित समुदायलाई हुने जोखिम बिमा तथा स्वरोजगार एवं आयआर्जनका लागि अन्तर्राष्ट्रिय संघसंस्थालाई सहयोगका लागि आग्रहसमेत गरे। 

यसै क्रममा नेपाललाई सीप तथा क्षमता विकासका साथै वित्तीय स्रोतको आवश्यकता रहेको विषय पनि उल्लेख गरे। वातावरणीय कोष तथा सुविधाका कार्यक्रम ठोस नतिजा प्राप्तहुने गरी राष्ट्रिय प्रणालीबाट परिचालन गर्नुपर्नेमा जोड दिँदै उनले यस्ता कार्यक्रमले स्थानीय जनताको जीवनस्तर र आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताए।

जीईएफको  ७औं विश्व सम्मेलनमा ८३ देशका मन्त्री तथा १८५ देशमा प्रतिनिधिको सहभागिता छ भने सम्मेलनको समापन अगस्ट २५ मा हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .