ad ad

राजनीति


उच्चस्तरीय समिति गठनबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै, कार्यदलले मस्यौदा बुझाउँदै

उच्चस्तरीय समिति गठनबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै, कार्यदलले मस्यौदा बुझाउँदै

फाइल तस्बिर


नेपालखबर
भदौ ६, २०८० बुधबार ९:४, काठमाडौँ

सुन प्रकरण अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति कस्तो बनाउने भन्ने विषयमा छलफल गर्न आज (बुधबार) सर्वदलीय बैठक बस्दै छ। 

हङकङबाट भित्रिएको ६० किलो सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सैद्धान्तिक सहमति गरेका दलहरूले आज यसको कार्यादेश (टीओआर) बारे छलफल गर्ने भएका हुन्। 

टीओआरको मस्यौदा तयार पार्न गठित कार्यदलका सदस्य एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङले अहिले बिहान ११ बजे सिंहदरबारमा सर्वदलीय बैठक बस्ने जानकारी दिए। 

‘त्यस बैठकमा हामीले तयार पारेको टीओआरको मस्यौदा शीर्ष नेताहरूसमक्ष पेस गर्दै छौँ’, नेपालखबरसँग नेम्वाङले भने।  

सर्वदलीय बैठकमा राष्ट्रिय मान्यता प्राप्त दलहरू सहभागी हुनेछन्।

यसअघि यही भदौ ४ गते बसेको उनीहरूको बैठकले उच्चस्तरीय समितिको टीओआर बनाउन एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र नेपाली कांग्रेसका प्रमुख रमेश लेखक सदस्य रहेको कार्यदल बनाएको छ। 

त्यसो त उच्चस्तरीय छानबिन समितिको टीओआरबारे मंगलबारै बैठक बसेर टुंगो लगाउने तयारी गरिएको थियो। तर स्वास्थ्य समस्या देखाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै बैठकमा नआएपछि स्थगन गरिएको थियो। 

उच्च स्तरीय समिति गठनको माग गर्दै साउन १० देखि निरन्तर संसद् बैठक अवरुद्ध पारिरहेको एमाले संसद् खुलाउन लगभग सहमत भइसकेको छ। तर आजको सर्वदलीय बैठकपछि आजै दिउँसोका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अघि बढ्ने वा नबढ्ने निश्चित हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .