राजनीति


कुमार पौडेल प्रकरणः निष्पक्ष छानबिन गर्न मसालको माग

कुमार पौडेल प्रकरणः निष्पक्ष छानबिन गर्न मसालको माग

नेपालखबर
असार १३, २०७६ शुक्रबार १२:२,

नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता कुमार पौडेलको मृत्युबारे उच्चस्तरीय छानबिन गर्न माग गरेको छ।

प्रहरीसँग मुठभेडका क्रममा मारिएका भनिएका कुमार पौडेलको मृत्यु मुठभेडका क्रममा नभइ गिरफ्तार पछि हत्या गरिएको आशंकासहित घटनाको निष्पक्ष छानबिन गर्न र दोषीमाथि कारवाही गर्न मसालले जोड दिएको छ।

महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘नेकपा (विप्लब)का कार्यकर्ता का. कुमार पौडेलको हत्या प्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ। गृहमन्त्री र प्रहरीले उनी दोहोरो भिडन्तमा मारिएको बताएका छन्। तर सत्ता पक्ष कै कतिपय सांसदहरूको भनाइ र सञ्चार माध्यमहरूले बाहिर ल्याएका समाचारहरूबाट उनी मुठभेडमा नमारिएको र उनलाई गिरफ्तार गरेपछि हत्या गरिएको भन्ने आशङ्का पनि उत्पन्न भएको छ। खास गरेर उनको हात कैयौँ ठाउँमा भाँचिएको भन्ने कुराहरू बाहिर आएका छन्। उनको गोली लागेर नै मृत्यु भएको भए हात नभाँचिनु पर्ने र शरीरमा गोलीको मात्र घाउ हुनुपर्ने थियो। त्यसरी बाहिर आएका तथ्यहरूबाट उनको मृत्यु भिडन्तमा नभएर गिरफ्तार गरेपछि हत्या गरिएको भन्ने प्रश्न उठाउनका लागि ठाउँ छ।’

सिंहले वक्तव्यमा अगाडि भनेका छन्, ‘हाम्रो पार्टीले कुमार पौडेल प्रकरणमा उच्चस्तरीय तथा निष्पक्ष तरिकाले छानबिन गरी वास्तविकतालाई बाहिर ल्याउनका लागि सरकारसित माग गर्दछ। उक्त घटनामा उनको हत्या गरिएको प्रमाणित भएमा दोषिलाई सजाय गर्नुपर्ने आवश्यकतामा पनि हाम्रो पार्टीले जोड दिन्छ।’

असार ६ गते सर्लाहीमा मारिएका नेकपा सर्लाहीका इन्चार्ज कुमार पौडेलको प्रहरीसँग मुठभेडका क्रममा मृत्यु भएको सरकारले दाबी गर्दै आएको छ भने विप्लव नेकपाले उनलाई नियन्त्रणमा लिएर हत्या गरिएको जिकिर गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad