ad ad

राजनीति


एमालेको आरोप : सुन तस्करीमा सत्तारुढ नेताहरु जोडिएपछि प्रहरी अधिकारीको सरुवा गरियो

एमालेको आरोप : सुन तस्करीमा सत्तारुढ नेताहरु जोडिएपछि प्रहरी अधिकारीको सरुवा गरियो

फाइल तस्बिर


नेपालखबर
भदौ ३, २०८० आइतबार १७:२०, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सरकारले आफ्ना मान्छेलाई जोगाउन सुन तस्करी छानबिनमा संलग्न प्रहरी अधिकारीहरुलाई सरुवा गरेको आरोप लगाएको छ।

एमालेका सचेतक महेश बर्तौलाले सत्तापक्षकै नेताहरु उक्त प्रकरणमा मुछिएपछि सरकारले उनीहरुलाई उन्मुक्ति दिनेगरी अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुलाई सरुवा गरेको बताएका हु्न्।

आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग उनले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगायतका सरकारी निकाय सत्तापक्षले आफ्नो इसारामा चलाउने काम भएपछि स्वतन्त्र र निष्पक्ष रुपमा सुन तस्करीको अनुसन्धान गर्ला भन्ने नलागेको जिकिर गरे। 

सचेतक बर्तौलाले सुन तस्करीका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने आफ्नो पार्टीको मागको औचित्य झनै पुष्टि भएर गएको दाबी गर्दै त्यसबाट पछि हट्न नसकिने अडान दोहोर्‍याए।

‘उच्चस्तरीय छानबिन समितिको माग अझै बढेर गएको छ। तपाईंहरु सबैले देखिरहनुभएको छ। समाचार प्रकाशन, प्रशारण भइराखेको छ। अनुसन्धानको तहमा क्रियाशील भएका प्रहरी अधिकारीलाई एकपछि अर्को सरुवा गरिएको छ’, उनले भने, ‘अनुसन्धानको सुई जब सत्तापक्ष व्यक्तिहरुतर्फ सोझिन थाल्यो, त्यसपछि सत्ता घटक प्रहरी अधिकारीलाई सरुवा गर्न लाग्यो। यसले के देखाउँछ भने राज्य मातहतका निकायबाट सीआआईबी निष्पक्ष, स्वतन्त्र ढंगले काम गर्न भइरहेको छैन।’ 

सरकारले आफ्नो उद्देश्य र अभिष्ट साँध्नका लागि त्यस बमोजिम काम गरिराखेको देखिएको पनि उनले बताए। 

‘त्यसकारण नेकपा एमालेले सुन तस्करसँग जोडिएको, यी तस्करका समग्र जालोलाई समाप्त पार्नुपर्छ भन्ने कोणबाट उठाएको यो माग हाम्रो जारी छ। हामी यो मागबाट फिर्ता हुँदैनौँ’, उनले  भने। 

सचेतक बर्तौलाले एमालेले संसद बैठक अवरुद्ध नपार्ने तर सुन तस्करीको अनुसन्धानलाई स्वतन्त्र र निष्पक्ष रुपमा अघि बढाउन उच्चस्तरीय समिति बन्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .