राजनीति


प्रदेश २ मा राष्ट्रियसभाको निर्वाचनको तयारी अन्तिम चरणमा

प्रदेश २ मा राष्ट्रियसभाको निर्वाचनको तयारी अन्तिम चरणमा

नेपालखबर
माघ ७, २०७६ मंगलबार ११:४८,

प्रदेश मा राष्ट्रियसभा सदस्य पदको माघ ९ गते हुन गइरहेको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ।

निर्वाचनमा खटिने कर्मचारीको तालिम सम्पन्न भइसकेको तथा निर्वाचन स्वच्छ, निष्पक्ष र व्यवस्थित ढंगले सम्पन्न गर्नका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको निर्वाचन अधिकृत राजु खतिवडाले जानकारी दिए।

निर्वाचनका लागि जनकपुरस्थित महेन्द्र नारायणनिधि संस्कृति केन्द्रमा स्थानीय तहका मतदाता र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था मिलाउन लागिएको उनले बताए। राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि २५ कर्मचारी परिचालन हुने भएको छ। बिहान १० बजे मतदान शुरु भई अपराह्न ४ बजेसम्मका लागि समय निर्धारण गरिएको निर्वाचन अधिकृत खतिवडाले बताए।

निर्वाचन सकिएलगत्तै मतगणनाको प्रक्रिया सुरु गरिने उनले जानकारी दिए। प्रदेश २ मा राष्ट्रियसभा सदस्यको चार पदका लागि हुन गइरहेको निर्वाचनमा आठ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। उक्त निर्वाचनमा प्रदेश २ को प्रदेशसभा सदस्यका साथै स्थानीय तहका नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्नेछन्।

प्रदेशसभा सदस्य १०७ जना र स्थानीय तहका नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष २७२ जना गरी कूल ३७९ जना मतदाता छन्। सो निर्वाचनमा महिला समूहअन्तर्गत एक पदका लागि नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट तुलसाकुमारी दाहाल र नेपाली कांग्रेसको तर्फबाट नगिना यादवबीच प्रतिस्पर्धा हुने भएको छ।

यस्तै दलित समूहअन्तर्गत एक पदका लागि नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट राधेश्याम पासवान र समाजवादी पार्टीको तर्फबाट रामपृत पासवान छन्। सोही अनुरुप, अल्पसंख्यक समूहअन्तर्गत एक पदको निर्वाचनमा नेपाली कांग्रेसबाट भोला पञ्जियार र राजपाबाट शेखरकुमार सिंहबीच र अन्य समूहअन्तर्गत एक पदका लागि हुने निर्वाचनमा समाजवादीका अनिरुद्धकुमार सिंह र राजपाका मृगेन्द्रकुमार सिंहबीच प्रतिस्पर्धा हुने भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad