प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक सय किलो सुन प्रकरणको छानबिनमा सरकारको दबाब र प्रभाव प्रष्ट देखिएको दाबी गरेको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले यसो भनेका हुन्।
सरकारले प्रतिपक्षीको आवाजलाई दबाउन खोजेको पनि उनले बताएका छन्।
‘सरकारले जुन ढंगले छानबिनमा आलटाल गरेर प्रतिपक्षीको आवाज दबाउन खोजिरहेको छ, सांसद पक्राउ गरेर प्रतिशोधपूर्ण बाटोमा अघि बढ्दैछ,’ ज्ञवालीले भने, ‘सीआईबीले नाम किटान गरेका छानबिनमा नल्याउने, सरकारी वकिलले नाम हटाएर मुद्दा दायर गर्ने स्थिति छ। यो सबैमा दबाब र प्रभाव प्रष्ट देखिन्छ।’
एमालेले सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने बताउँदै आएको छ। त्यही माग राख्दै आज बसेको संसद् बैठकमा पनि एमालेले नाराबाजी गरेको थियो।
Shares

प्रतिक्रिया