ad ad

राजनीति


नेकपा–राजपा गठबन्धनका उम्मेदवार सिंहको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी

नेकपा–राजपा गठबन्धनका उम्मेदवार सिंहको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी

शैलेन्द्र महतो
माघ ६, २०७६ सोमबार ११:४२,

अगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका प्रदेश २ का उम्मदेवार शेखरप्रसाद सिंहको उम्मेदवारी खारेजी गर्न निर्वाचन कार्यालयमा उजुरी परेको छ।

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयुक्त उम्मेदवार शेखर सिंहको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन अधिकृतको कार्यालय जनकपुरमा उजुरी परेको हो।

 नेपाली कांग्रेस र समाजवादी पार्टीका संयुक्त उम्मेदवार भोला पजियारले निर्वाचन कार्यालयमा बिपक्षी गठबन्धनका उम्मेदवार सिंह अयोग्य भएको भन्दै उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दिएका हुन्। राजपा नेपालका तर्फबाट अल्पसंख्यक समूहबाट सप्तरी तिलाठी कोइलाडी गाउँपालिका ४ का सिंहले उम्मेदवारी दिएका छन्।

पजियारले दिएको उजुरीमा ३० असार २०४४ मा जिल्ला अदालत सप्तरीबाट कुटपिट तथा अंगभंग मुद्दामा २ वर्ष कैद र जरिवाना हुने फैसला गरेको र उक्त फैसलालाई सगरमाथा अञ्चल अदालतबाट सदर भई सर्वोच्च अदालतको १ पुस २०५६ पुनरावलोकनको निस्सा नहुने भई अन्तिम भएको उल्लेख छ।

कैद फैसला भएका व्यक्ति हालसम्म भुक्तान नगरेको र त्यस्ता व्यक्ति अदालत र प्रहरी प्रशासनको नजरमा फरार भएकाले राष्ट्रिय सभा जस्तो गरिमामय सदनको उम्मेदवार बन्न अयोग्य हुने भएकाले उनको उम्मेदवारी खारेजी गर्न परिजारले माग गरेका हुन्। अपराधीलाई सत्तापक्षबाटै उम्मेदवार बनाउनुले कानुनी राज्य र कानुनी शासनको मर्ममाथि आघात पुगेकाले सिंहको उम्मेदवार खारेजी गर्नुपर्ने पजियारको माग छ।

कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्यका उम्मेदवार उजुरी कर्ता पजियार धनुषाको सबैला नगरपालिका १० का बासिन्दा हुन्। विपक्षी गठबन्धनबाट उम्मेदवार बनेका शेखर सिंहको उम्मेदवारी खारेजी भए पजियार एकल भएकाले उनी नै निर्वाचित हुने छन्।

यता राष्ट्रियसभा निर्वाचन कार्यालय प्रदेश २ का अधिकृत राजुकुमार खतिवडाले पजियारको उजुरी दर्ता गरेर निर्वाचन आयोगमा पठाएको बताए। निर्वाचन आयोगले नै उजुरीको विषयमा फैसला र निर्णय लिने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .