ad ad

राजनीति


सरकारको प्रतिवेदन आएपछि उच्चस्तरीय छानबिन समिति बनाउन सकिन्छ : जनार्दन शर्मा

सरकारको प्रतिवेदन आएपछि उच्चस्तरीय छानबिन समिति बनाउन सकिन्छ : जनार्दन शर्मा

नेपालखबर
साउन २२, २०८० सोमबार १८:२२, काठमाडौँ

नेकपा(माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सुन तस्करी प्रकरणमा सरकारको छानविन प्रतिवेदन आइसकेपछि उच्चस्तरीय छानविन समिति बनाउन सकिने बताएका छन्।

सोमबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमहासचिव शर्माले सुन तस्करी प्रकरणको जालो पत्ता लगाउन सरकार लागि परिरहेको बताएका हुन्।

‘संसद ठप्प गर्नु हुँदैन। संसद खोल्नुपर्छ। धेरै इस्युहरू छन् यतिबेला। ती इस्युहरूलाई यहाँ उजागर गर्नुपर्छ। हामीले बारम्बार के अनुरोध गरेका छौँ भने प्रतिपक्षी दललाई यो संसद खोल्नका लागि सहजीकरण गर्नुहोस्,’ उनले भने, ‘मन्त्रीहरूको जवाफ सुनौँ। उहाँहरूको जवाफ सुनेर हामी अगाडी बढौँ भनेर सरकारको तर्फबाट भइराखेको छ। सभामुखले भनिरहनु भएको छ। हाम्रो तर्फबाट संसद खोल्न दिनदिनै पहल भइराखेको छ।’

उनले सरकारको छानबिन रिपोर्ट आएपछि चित्त नबुझेमा मात्रै उच्चस्तरीय छानबिन समिति बनाउन सकिने पनि बताए। उनले अहिलेको अवस्थामा सरकारले गरेको छानविनलाई सहयोग गर्नु आवश्यक रहेको बताए। 

उनले बरु सरकारलाई निश्चित समयभित्र छानविन गरिसक्नुस् भने समय तोक्न भने सकिने बताए। 

‘प्रधानमन्त्रीले प्रतिपक्षी दलका नेतालाई भेटिपनि राख्नुभएको छ। छलफल पनि भइरहेको छ। हामी छिटोभन्दा छिटो संसद खोल्न चाहान्छौँ। सरकारले पक्रिसकेपछि त्यसलाई कसरी यो सुन आइरहेको छ भनेर जालो पत्ता लगाउँदै छ त,’ उनले भने, ‘त्यो छानबिनको रिपोर्ट आइसकेपछि चित्त नबुझ्दा, आवश्यक पर्दा, अधुरो हुँदा भोलि उच्चस्तरीय बनाएर थप छानविन गर्न पनि आवश्यक होला। तर अहिले छानबिन प्रक्रियालाई सबैले मद्दत गर्नु नै राम्रो हो नि। बरु यति दिनभित्र छानबिन सक्नुस् भन्न सकियो। छिटो सक्नुस् भन्न सकियो। सकिसकेपछि अनि आवश्यक परे उच्चस्तरीय बनाए हुन्छ।’

उनले संसदमा धेरै विषयहरुमा छलफल गर्नुपर्ने आवश्यकता रहेको भन्दै संसद ठप्प पार्नु नहुने पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .