ad ad

बागमती


ड्याम खुलेको सूचना नआउँदा ६ जना विद्यार्थी गुमायौँ-एन्फा, मनखुसीले खोलेको होइन-कुलेखानी प्रमुख

ड्याम खुलेको सूचना नआउँदा ६ जना विद्यार्थी गुमायौँ-एन्फा, मनखुसीले खोलेको होइन-कुलेखानी प्रमुख

कुलेखानी जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्ट र एन्फा एकेडेमीका संयोजक सुवासचन्द्र ठकुरी


सुनिता विष्ट
असोज १४, २०८१ सोमबार ८:५२, काठमाडौँ

बिहीबारदेखि लगातार ३ दिनसम्मको भारी वर्षाले मकवानपुरको इन्द्रसरोवर गाउँपलिका-२ स्थित कुलेखानी जलविद्युत् केन्द्रको जलाशय भरियो। १ हजार ५ सय ३० मिटर क्षमताको जलाशयमा क्षमताभन्दा बढी पानी भरिएपछि बाँध फुट्ने त्रासले केन्द्रका प्राविधिकहरूले शनिबार बिहानै ५:४५ बजेतिरै बाँधका दुवै ढोका खोलिदिए।

बाँध खोलेपछि हुन सक्ने जोखिम न्यूनीकरणका लागि केन्द्रका प्रमुख इन्जिनियर तारादत्त भट्टले शुक्रबार दिउँसो नै सरोकारवाला निकायहरूमार्फत जानकारी गराउन आग्रह गरेका थिए। भट्टद्वारा हस्ताक्षरित पत्रमा बाँध खोल्नुपर्ने स्थिति आउन सक्ने भन्दै सुरक्षित रहन आग्रह गरिएको थियो।

कुलेखानी ड्याम खोल्दा इन्द्रसरोवर–३ मा पर्ने टेकर, सिस्नेरी लगायतका क्षेत्र डुबानमा पर्नेमा दुईमत थिएन। एकातिर भारी वर्षाले बढेको खोला, अर्कातिर ठाउँठाउँमा गएका पहिरा। 

यसैबीच कुलेखानीको बाँध फुटे ठूलो क्षति हुने त्रासले बिहानको मिर्मिरे उज्यालोमै दुवै ढोका खोलियो। जहाँबाट बगेको पानीका कारण गएको पहिरोले बिहानै सुरक्षित स्थानतर्फ जान लागेका एन्फा एकेडेमीका विद्यार्थीहरूलाई पुर्‍यो। 

इन्द्रसरोवर–३ मा रहेको वत्सलादेवी माविमा सञ्चालित अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीमा फुटबल प्रशिक्षणमा बसेका विद्यार्थीहरू सुरक्षित स्थानमा जान विद्यालयको छात्रावासबाट निस्किए।

सहायक प्रधानाध्यापक सुर्दशन घिमिरे तथा होस्टेल वार्डेनसहित ४ जना शिक्षक ४० जना विद्यार्थीलाई टेकरस्थित गाउँले रिसोर्टमा राख्नका लागि लैजाँदै थिए। 

कुलेखानीको बाँध खोलेको खबर पाएपछि विद्यार्थीहरू त्रसित भएकै कारण यस्तो दुर्घघटना हुन पुगेको एन्फा एकेडेमीका सदस्य रुपेश थापा बताउँछन्। 

‘हाम्रो विद्यालयलाई ड्यामको पानीले कुनै असर गर्ने अवस्था थिएन,’ उनले भने, ‘यहाँ बसेका बालकका अभिभावकहरूले फोन गरेर ड्यामको पानी खोलेको जानकारी गराइदिए। एक्कासि ड्यामको दुवै ढोका खोलेको सूचनाले विद्यार्थी डराए। हामी बिहानै रिसोर्टमा जान हिँडेका थियौँ। आत्तिएर दुईवटा बाटो भएर छिटो हिँड्न खोज्दा पहिरोले पुर्‍यो।’

पहिरोले पुरिँदा मकवानपुरका तीनजना र अन्य जिल्लाका तीन गरी ६ बालकले ज्यान गुमाए। मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख ललितकुमार घलानका छोरा अनुपम घलान, सिस्नेरीकै दिवस बानियाँ र मकवानपुरगढीका साइमन योन्जन, सर्लाहीका आदित्य बलम्पाकी, काठमाडौँका रियान्स आचार्य र निजगढका विकल रेग्मीको घटनास्थलमै मृत्यु भयो।

सिस्नेरीका तीन दर्जन घर बाढीले बगाएको छ। ठूलो जनधनको क्षति भएको छ।

शुक्रबारदेखि नै कुलेखानी तालको बाँध खोल्ने सूचना जारी भइसके पनि सोही दिन विद्यार्थीलाई किन अन्यत्र लगिएन त?

नेपालखबरको प्रश्नमा थापाले भने, ‘यदि ताल भरियो भने खोल्ने भनिएको थियो। खोल्नुअघि भने सूचना दिइएन। भीरहरू गलेको अवस्था थियो। हामी सुरक्षित स्थानमा जाँदा पहिरो खसेर पुरिएको हो। हामीले विद्यालय छोड्नुपर्ने थिएन। तर बच्चाहरू डराएकै कारण रिसोर्टमा लैजाँदै थियौँ।’ 

यता, वत्सलादेवी माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा एन्फा एकेडेमीका संयोजक सुवासचन्द्र ठकुरीले कुलेखानी जलविद्युत् केन्द्रकै कारण आफ्ना ६ जना विद्यार्थीले ज्यान गुमाउन बाध्य भएको आरोप लगाउँछन्। कुलेखानीबाट आएको बाढीले विद्यार्थीलाई नभेटे पनि बाढीको खतरा बढेपछि सुरक्षित स्थानमा सार्ने क्रममा अकल्पनीय घटना भएको ठकुरीको भनाइ छ। 

‘सामाजिक सञ्जालमा सूचना जारी गरेकै भरमा एकाबिहानै ड्यामका दुवै ढोका खोलेर भएभरको पानी ओरालोतिर झार्दिएपछि तलतिर रहेको मान्छे डराएर भाग्नुको विकल्प नै भएन,’ ठकुरीले भने, ‘२०५० सालको बाढीले पनि नबगाएको सिस्नेरी बजार बगायो। कुलेखानीका १५ घर डुबानमा परे। खोलानजिकै हाम्रो विद्यालय थियो। विद्यालयमा पनि बाढी आउला। रुखहरू ढलेर लाग्ला भन्ने त्रासले ठाउँ सार्दै थियौँ। जमिन भासियो। माथिबाट पनि पहिरो खस्दा १०/११ जना विद्यार्थीलाई पुरेको रहेछ। अरूलाई उद्धार गरियो। ६ जनाको दुःखद् निधन हुन पुग्यो।’ 

एकैपटक ड्यामका दुवै ढोका खोलेर पानी छोड्दा विपत्ति आइपरेको र यो सबैको जिम्मेवारी विद्युत् प्राधिकरणले लिनुपर्ने ठकुरीको दाबी छ। ‘कम्तीमा पानी खोल्नुअघि साइरन बजाउनुपर्थ्यो,’ ठकुरी भन्छन्, ‘ड्याम भरियो भन्दै एकैपटक पानी खोल्नु नै गलत थियो। कम्तीमा थोरैथोरै गरेर पानी खोलिएको भए यत्तिका विपत्ति सामना गर्नुपर्ने थिएन।’

उद्धार गरिएका विद्यार्थीलाई हेलिकप्टरमार्फत लगेर ललितपुरस्थित एन्फा कार्यालयमा राखिएको ठकुरीले जानकारी दिए।

यता, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी पनि कुलेखानी जलविद्युत् केन्द्रकै कारण इन्द्रसरोवरले क्षति व्यहोर्नुपरेको बताउँछन्। आफूहरूले धेरै वर्ष पहिलेदेखि नै कुलेखानी जलविद्युत् केन्द्रलाई ठूलो आवाजमा बज्ने साइरन राख्न भने पनि अटेर गरेको उनको आरोप छ। एकाबिहानै ड्यामको ढोका खोल्दा अझ धेरै क्षति भएको उनको बुझाइ छ।

त्यसो त कुलेखानी जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्ट शनिबार बिहान ४ बजेतिरको समयमा ड्याममा पानी भरिएर ओभरफ्लो हुन थालेको बताउँछन्। भट्टले तुरुन्तै जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख तीर्थराज चिलुवाललाई फोन गरे। चिलुवालले पनि ड्यामको ढोका खोल्न निर्देशन दिए।

यति मात्रै होइन, गृह मन्त्रालयमा समेत आफूले सोधेर मात्रै बाँध खोलेको प्रमुख भट्ट बताउँछन्। साथै, जलाशयको पानी घटाउन २ देखि ४ क्यूसेक पानी मात्रै छोडिएको भट्टको दाबी छ।

‘मैले आफ्नो मनखुसीले ड्यामको बाँध खोलेको होइन,’ भट्टले भने, ‘अघिल्लो दिन नै सञ्चारमाध्यममा सूचना सप्रेषण गरिएको थियो। ड्याम फुटेर हुन सक्ने क्षति कम गर्न ढोका खोलिएको हो। सिस्नेरीको बाढी कुलेखानीको पानीले मात्र आएको होइन, तीन दिनदेखि परेको झरी पनि हो। विद्यार्थीहरूको मृत्युमा कुलेखानीको कुनै सम्बन्ध छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .