नेकपा(एमाले)का सांसद रघुजी पन्तले सुन तस्करी प्रकरणको निष्पक्ष छानबिन हुनेमा आफूहरू विश्वस्त नभएको बताएका छन्।
सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद पन्तले सुन तस्करी प्रकरणमा निष्पक्ष छानविन हुनेमा आशंका व्यक्त गरेका हुन्।
उनले आफूहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति नै विश्वास नभएको बताए। उनले प्रधानमन्त्रीको कामप्रति ढुक्क हुने अवस्था नभएको पनि बताए।
‘सरकारको नेतृत्व गर्ने मान्छेमाथि नै विश्वास छैन नि। प्रचण्डजीले जतिसुकै ठूलो कुरा गरेपनि उहाँको कामले ढुक्क हुने अवस्था त छैन। राजस्वले राम्रै छानबिन गरेको थियो। हामीले संसद बन्द गरेपछि सीआईबीलाई दिने निर्णय भयो,’ उनले भने, ‘त्यो पनि ठिकै छ। एउटा उच्चस्तरीय छानबिन समिति बनाए भयो नि। राजस्वको छानबिन पनि जारी रहन्छ। सीआइबीले गर्ने छानविन पनि जारी रहन्छ।’
राजस्व विभाग र प्रहरीको अनुसन्धानलाई जारी राखेर सुन तस्करी प्रकरणमा अर्को राजनीतिक तहको उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने उनको भनाइ छ।
‘अर्को एउटा कसरी सुन तस्करी रोक्ने भन्ने एउटा नीतिगत निर्णय पनि गर्नुपर्ला। सुन तस्करी सदाका लागि हाम्रो एयरपोर्टबाट तस्करी हुन कसरी रोक्ने भन्नेकुराको लागि पनि त छानबिन आयोग बनाउँदा के बिग्रिन्छ र,’ उनले भने, ‘नेपालको एयरपोर्टबाट सुन तस्करी सदाको लागि अन्त्य होस् भन्नका लागि राजनीतिक रुपमा कडा कदम नचालेसम्म यो रोकिँदैन। राजनीतिक मान्छेहरु संलग्न छन् कुन कुन पार्टीका छन् भन्ने त नाम नै आएको छ बाहिर। उनीहरूलाई चोख्याउने काम भएको छ।’
उनले करोडौँ रुपैयाको चलखेलमा लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामा नियुक्त भएको बताए।
लामालाई नियुक्त गर्ने सरकारले भ्रष्टाचारको गफ लगाउनुमात्रै भएको उनले टिप्पणी गरे।
Shares

प्रतिक्रिया