ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्डले असोज ५ गते राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने

चीन भ्रमणमा जान विशेष विमानको समस्या
प्रधानमन्त्री प्रचण्डले असोज ५ गते राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने

नेपालखबर
साउन २१, २०८० आइतबार १८:१६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले संयुक्त राष्ट्रसंघीय महासभामा २२ सेप्टेम्बरमा सम्बोधन गर्ने तालिका तय भएको छ।

सेप्टेम्बर २० देखि अमेरिकाको न्यूयोर्कमा सुरु हुने संयुक्त राष्ट्रसंघको महासभामा नेपालबाट प्रधानमन्त्रीस्तरीय प्रतिनिधित्व भएमा प्रधानमन्त्री प्रचण्डका लागि २२ सेप्टेम्बर (५ असोज)को समय तय भएको हो।

तर, त्यही समयमा चीन भ्रमणको तिथि जुर्न सक्ने भएकाले प्रधानमन्त्री प्रचण्ड राष्ट्रसंघीय महासभामा जाने–नजाने अन्तिम टुङ्गो भने लागिसकेको छैन।

यद्यपी, महासभा सुरु हुनुअघि संयुक्त राष्ट्रसंघ अन्तर्गत दीगो विकास लक्ष्य सम्बन्धी शिखर सम्मेलन (एसडिसी समिट) हुने भएकाले उनी न्यूयोर्क पनि जान इच्छुक छन्। 

न्यूयोर्कमा राष्ट्रसंघीय महासभा चलिरहँदा चीनको हान्चाओमा सन् २०२३ को संस्करणको एसियाली गेम्सको उद्घाटन समारोह हुँदैछ। पहिल्यै चीन भ्रमणको निम्तो पाइसकेका प्रचण्ड सो उद्घाटन समारोहमा पनि सहभागी हुन इच्छुक छन्। 

त्यसैले, उनले चीन भ्रमण वा संयुक्त राष्ट्रसंघको महासभामध्ये कुनमा सहभागी हुन्छन्, त्यसको टुङ्गो लागिसकेको छैन।

परराष्ट्र मन्त्रालयका अधिकारीहरुका भनाइमा, सकभर राष्ट्रसंघीय महासभा र एसियाली खेलकूद प्रतियोगिताको उद्घाटन सत्र दुवैमा सहभागिता हुनसक्ने गरी भ्रमणको तयारी गरिँदैछ।

राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री प्रचण्डले सम्बोधनको जुन समय पाएका छन्, सम्बोधन सकिएपछि भ्रमणका लागि चीन प्रस्थान गर्ने हो भने नेपालले विशेष विमानको व्यवस्था गर्नुपर्ने हुन्छ।

तर, नेपालसँग त्यस्तो विमानको व्यवस्था छैन।

त्यसैले पनि न्यूयोर्क र चीन दुवै भ्रमणको व्यवस्थापनमा समस्या परिरहेको छ। 

राष्ट्रसंघीय महासभा २० सेप्टेम्बर (३ असोज) देखि सुरु हुँदैछ। त्यसअघि राष्ट्रसंघ अन्तर्गतकै अर्को महत्वपूर्ण निकाय एसडीजी समिट हुँदैछ। 

एसडीजी समिटमा विश्वका विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको उपस्थिति हुने भएकाले पनि प्रचण्डले न्यूयोर्क भ्रमणलाई प्राथमिकता दिएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .