ad ad

राजनीति


मिति जुधेपछि दोधारमा प्रधानमन्त्री प्रचण्ड : पहिले चीन जाने कि अमेरिका?

परराष्ट्रले थाल्यो दुवै भ्रमणको समानान्तर तयारी
मिति जुधेपछि दोधारमा प्रधानमन्त्री प्रचण्ड : पहिले चीन जाने कि अमेरिका?

नेपालखबर
साउन १८, २०८० बिहिबार १८:२, काठमाडौँ

भारत भ्रमणलाई पहिलो प्राथमिकता दिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अब पहिले चीन जाने कि अमेरिका जाने भन्ने दोधारमा परेका छन्।

चीन भ्रमणका लागि प्रस्तावित मिति र अमेरिकाको न्युयोर्कमा हुने राष्ट्रसंघीय महासभा एकै मितिमा जुध्ने भएपछि प्रधानमन्त्री यस्तो दोधारमा परेका हुन्।

यस वर्ष (सन् २०२३) को एसियाली गेम्स पूर्वी चीनको सेस्याङ प्रान्तको राजधानी हान्चाओमा आगामी २३ सेप्टेम्बर (६ असोज) देखि हुँदैछ। 

घोषणा नगरिए पनि एसियाली गेम्सको उद्घाटन कार्यक्रममा सहभागी हुने गरी प्रधानमन्त्रीको चीन भ्रमण तालिका मिलाउने योजनामा चीन र नेपाल थिए। 

तर, प्रधानमन्त्री प्रचण्ड अमेरिकाको न्युयोर्कमा सेप्टेम्बर तेस्रो सातादेखि सुरु हुने राष्ट्रसंघीय महासभा र त्यसअघि त्यहीँ आयोजना हुने दिगो विकास लक्ष्यसम्बन्धी शिखर सम्मेलन (एसडीजी समिट) मा पनि सहभागी हुने योजनामा छन्। 

प्रधानमन्त्री प्रचण्ड साउन पहिलो साता इटलीको राजधानी रोममा आयोजित युनाइटेड नेसन्स फुड सिष्टम–२०२३ मा समेत सहभागी भएका थिए। इटली भ्रमणलाई समेत प्राथमिकतामा राखेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघ अन्तर्गतका दुई सर्वाधिक महत्वपूर्ण फोरममा नेपालको नेतृत्व गर्न चाहनु अस्वाभाविक पनि होइन। 

तर, हान्चाओमा सुरु हुने एसियाली गेम्स र एसडीजी समिट एवं राष्ट्रसंघीय महासभा झण्डै एउटै मितिमा हुने भएपछि चीन जाने कि अमेरिका जाने भन्ने निर्णय गर्न प्रधानमन्त्री प्रचण्डलाई अप्ठेरो परेको छ। 

जानकारी अनुसार राष्ट्रसंघले एसडीजी समिट १८–१९ सेप्टेम्बर (१–२ असोज) का लागि तय गरेको छ। एसडीजी समिट समाप्त भएलगत्तै राष्ट्रसंघीय महासभा सुरु हुन्छ। महासभाको पहिलो दिन अर्थात् २० सेप्टेम्बर (३ असोज) मा महासभामा सहभागी विभिन्न राष्ट्रप्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम छ। 

राष्ट्रप्रमुखहरुको सम्बोधन सकिएपछि सरकार प्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम आउँछ। तय भएको कार्यक्रम अनुसार सरकार प्रमुखहरुले २१, २२, २३ सेप्टेम्बर (४, ५ र ६ असोज) का दिन सम्बोधन गर्नेछन्। 

तर, राष्ट्रसंघीय महासभामा सरकार प्रमुखहरुले सम्बोधन गर्ने मध्येको एक दिन अर्थात् ६ असोजमा यता चीनको हान्जाओमा एसियाली गेम्सको उद्घाटन कार्यक्रम हुनेछ।  

राष्ट्रसंघीय महासभामा सम्बोधनको मिति र एसियाली गेम्सको उद्घाटन समारोह जुध्ने भएपछि कता जाने भन्ने निर्णय लिन प्रधानमन्त्री प्रचण्डलाई अप्ठेरो परेको हो। 

एसडीजी समिट तय नभइदिएको भए प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघीय महासभा र एसियाली गेम्सको उद्घाटन सत्रमा सहभागी हुने सम्भावना रहन्थ्यो।     

‘एसडीजी समिट र राष्ट्रसंघीय महासभा दुवै महत्वपूर्ण फोरम हुन्, एसडीजी समिटमा भाग लिन न्युयोर्क गइसकेपछि राष्ट्रसंघीय महासभामा भाग नलिँदा त्यति राम्रो सन्देश जाँदैन,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘राष्ट्रसंघीय महासभामा भाग लिने हो भने एसियाली गेम्सको उद्घाटन समारोहमा प्रधानमन्त्रीको सहभागिता छुट्छ। प्रधानमन्त्रीलाई अप्ठेरो यहीँ परेको छ।’

एसियाली गेम्सको उद्घाटन जस्तो महत्वपूर्ण समारोहमा भाग समेत लिने गरी चीनको भ्रमण गर्दा त्यसको प्रभावकारिता जति रहन्छ र भ्रमणको मिति जुराउन पनि सहज हुन्छ, त्यति सहज त्यो समारोह छुटाएपछि नहुन पनि सक्छ। अर्कोतिर चीनले पनि प्रधानमन्त्री प्रचण्डको सहभागिता उद्घाटन समारोहमा भइदेओस् भन्ने चाहना राखेको छ। 

‘प्रधानमन्त्रीको चाहना अहिले पनि चीन र न्यूयोर्क दुवैतिरका कार्यक्रममा सहभागी हुन पाए हुन्थ्यो भन्ने छ, सोही अनुसार तयारी गर्न उहाँले परराष्ट्र मन्त्रालयलाई निर्देशन पनि दिनुभएको छ,’ जानकार स्रोतले भन्यो, ‘तर, मिति जुधेकाले कहाँ जाने भन्ने निर्णय गर्न सकिरहनु भएको छैन।’ 

प्रधानमन्त्री हुनासाथ नेपाली नेताहरुले चीन र भारत भ्रमणको निम्तो पाउने गरेका छन्। यसले गर्दा पहिले कुन छिमेकको भ्रमण गर्ने निर्णय लिन उनीहरुलाई अप्ठेरो पर्ने गर्थ्यो। प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा चीनबाट विदेश भ्रमण सुरु गरेका थिए, जसका कारण भारत उनीसँग असन्तुष्ट बन्यो। त्यही कारण यसपटक प्रधानमन्त्री बनेपछि आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै सुरु हुने घोषणा गरे। 

जेठमा भारत भ्रमण गरेका प्रधानमन्त्री प्रचण्ड यसबीच इटली पुगेर पनि आइसकेका छन्। भारतको भ्रमण गरिसकेकाले चीन भ्रमणमा जाँदा भारत असन्तुष्ट हुने भय उनलाई छैन। तर, राष्ट्रसंघीय महासभा र एसियाली गेम्सको उद्घाटन सत्रको मिति जुध्दा अमेरिका पहिले जाने कि चीन पहिले जाने भन्ने निर्णय लिन उनलाई अप्ठेरो परेको छ।
 
जे भएपनि प्रधानमन्त्री प्रचण्ड चीन वा न्युयोर्कमध्ये एकातिर जाने पक्का छ। त्यसैले, मन्त्रालयका अधिकारीहरुले दुवैतर्फको भ्रमणको तयारी समानान्तर रुपमा गर्न थालिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .