ad ad

राजनीति


राष्ट्रिय सुरक्षाको आयाम व्यापक र फराकिलो भइसकेको छ : उपप्रधानमन्त्री खड्का

राष्ट्रिय सुरक्षाको आयाम व्यापक र फराकिलो भइसकेको छ : उपप्रधानमन्त्री खड्का

नेपालखबर
साउन १९, २०८० शुक्रबार २१:४६, काठमाडौँ

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षाको आयाम परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको बताएका छन्।

सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीको निरीक्षण भ्रमणका क्रममा आज तालिमरत शिक्षार्थी अधिकृतलाई सम्बोधन गर्दै उनले राष्ट्रिय सुरक्षा राजनीतिक, सामाजिक, आर्थिक एवं भौगोलिकलगायतका अन्य सबै पक्षको समग्र सुरक्षा भएको स्पष्ट पारे।
    
‘राष्ट्रिय सुरक्षाको आयाम सैनिक शक्तिलाई मात्रै आधार बनाई बुझ्ने परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको परिप्रेक्षमा यसले राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यावरणीय एवं मानवीय पक्षलगायतलाई पनि सम्बोधन गर्नु उत्तिकै आवश्यक छ। यी विषयवस्तुलाई पनि तालिममार्फत तपाईंहरूले ग्रहण गर्नुहुनेमा विश्वास छ’, उनले भने।

विश्व परिवेशमा देखा परेका विभिन्न घटनाक्रमका कारण अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा आइरहेको परिवर्तन, सूचना एवं प्रविधिको तीव्रगतिमा भइरहेको विकासक्रमका साथै राष्ट्रियरूपमा राजनीतिक, सामाजिक, सांस्कृतिक एवं आर्थिक क्षेत्रमा देखिएका परिवर्तनले राष्ट्रिय सुरक्षामा प्रत्यक्ष प्रभाव पारिरहेको उनको भनाइ थियो।

उनले प्रत्येक राष्ट्रले आ–आफ्नो मूल्यमान्यता र मूल नीतिमा आधारित रहेर राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउने प्रयासरत रहेको उल्लेख गरे।

सो अवसरमा उपप्रधानमन्त्री खड्काले सैनिक कमाण्ड तथा स्टाफ कलेजलाई स्रोत र साधनको व्यवस्था गरी सर्वोत्कृष्ट शिक्षालयका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। 

तालिमरत शिक्षार्थी अधिकृतलाई सम्बोधन गर्दै कलेजलाई ‘सेन्टर फर एक्सिलेन्स’ बनाउने सन्दर्भमा रक्षा मन्त्रालय सदैव सकरात्मक रहेको उल्लेख गरे।
    
उनले उच्चस्तरीय तालिम सञ्चालनका लागि राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा नआउँदासम्म यहाँ सञ्चालन गरिने तालिमले नै राष्ट्रिय सुरक्षामा टेवा पुग्नेमा विश्वास व्यक्त गरे।

‘राष्ट्रिय सुरक्षा, परराष्ट्र नीति तथा कूटनीति, राजनीतिक अर्थशास्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध, शान्ति सेनासम्बन्धी विषय, राष्ट्रिय सुरक्षामा विभिन्न सरकारी तथा गैरसरकारी निकायबीचको समन्वयसम्बन्धी विषय, परम्परागत र आधुनिक, सैद्धान्तिक एवं व्यावहारिक शिक्षा दिँदै आइरहेको यस कलेजलाई भविष्यमा उत्कृष्ट शिक्षालय बनाउन रक्षा मन्त्रालयको सदैव सकारात्मक सहयोग रहनेछ’, उनले भने।

उनले तालिमको महत्त्वलाई राम्रोसँग अङ्गीकार गर्न तालिमरत शिक्षार्थी समक्ष आग्रह गरे। ‘तपाईंहरू भविष्यमा नेपाली सेनाको नेतृत्व तहमा पुग्नुहुनेछ, तसर्थ भविष्यमा तपाईंलाई प्राप्त हुने जुनसुकै जिम्मेवारी बहन गर्ने क्रममा यस तालिमको महत्त्वलाई राम्रोसँग अङ्गीकार गर्नुहुनेछ भन्नेमा विश्वस्त छु’, उनले भने।

उपप्रधानमन्त्री खड्काले अन्य सुरक्षा निकायबाट पनि उत्कृष्ट अधिकृतहरू सहभागी हुने हुँदा आ–आफ्नो सङ्गठनमा उदाहरणीय रूपमा जिम्मेवारी बहन गरी आफूलाई अब्बल प्रमाणित गर्न तालिमरत शिक्षार्थीलाई सुझाव दिए।
    
विसं २०४७ सालमा शाही नेपाली सैनिक तालिम प्रतिष्ठानका रूपमा स्थापित उक्त संस्थानले आजका दिनसम्म आइपुग्दा नेपाली सेनाको गौरव गर्न लायक संस्थाको रूपमा रहेको उनको भनाइ थियो।

कलेजमा अन्तर्राष्ट्रिय विद्यार्थीसमेतको सहभागिताले अन्तर–सांस्कृतिक ज्ञान र अनुभवको आदानप्रदान गर्ने अवसर समेत उपलब्ध भएको उनले बताए।

दक्ष एवं योग्य प्रशिक्षक, छिमेकी एवं अन्य मित्रराष्ट्रका प्रतिनिधिहरूको सहभागिता, राम्रो हावापानी एवं कलेजको रमणीय भौगोलिक अवस्थिति, सांस्कृतिक आदानप्रदान तथा अन्तरघुलन, लब्धप्रतिष्ठित विज्ञहरूसँग अन्तरक्रिया गर्ने अवसरले कलेजले छुट्टै पहिचान बनाएको आफूले पाएको उपप्रधानमन्त्री खड्काको कथन छ।

‘कलेजको गरिमामय इतिहासकै कारण विभिन्न मित्रराष्ट्रबाट आउनुभएका सैनिक अधिकृतहरू यहाँ अध्ययनरत हुनुहुन्छ, यो हामी सबैका लागि गर्वको विषय हो’, उनले भने, ‘यसले कलेजको विशिष्टता थप प्रष्ट पार्छ। संस्थागत रूपमा नेपाली सेना र व्यक्तिगतरूपमा यहाँका शिक्षक वर्गले गरेको निरन्तरको मेहनत र प्रयासको उच्च मूल्याङ्कन गर्न चाहन्छु।’

उनले कलेजसँग सम्बन्धित चुनौती तथा समस्या समाधान गर्दै आगामी दिनमा कलेजको प्रभावकारी सञ्चालन, व्यवस्थापन एवं सुरक्षाका लागि व्यावसायिक प्रशिक्षक, आधुनिक एवं सुविधा सम्पन्न आवास व्यवस्थापनका लागि सहयोगको प्रतिबद्धता व्यक्त गरे। 

साथै शारीरिक अभ्यास, खेलकुद एवं मनोरञ्जनात्मक व्यवस्थामा स्तरोन्नति, आवश्यकताअनुसार सिकाइलाई थप प्रभावकारी बनाउन वैदेशिक भ्रमणलगायतको व्यवस्थापनका लागि समेत सरकारका तर्फबाट पहल गर्ने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .