ad ad

राजनीति


भारतसँगका सन्धी र सीमा समस्या समझदारीमा समाधान गर्नुपर्छ : अध्यक्ष थापा

भारतसँगका सन्धी र सीमा समस्या समझदारीमा समाधान गर्नुपर्छ : अध्यक्ष थापा

नेपालखबर
साउन १९, २०८० शुक्रबार २०:४३, काठमाडौँ

राप्रपा नेपालका अध्यक्ष एवं पूर्व परराष्ट्रमन्त्री कमल थापाले नेपाल सरकारले भारतसँगका सन्धी र सीमा समस्या समझदारीमा समाधान गर्न सक्नुपर्ने बताएका छन्।

शुक्रबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘छिमेकी सम्बन्ध र ईपीजी प्रतिवेदन विषयक संवाद कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्। 

उनले भारतसँग असमझादारी भन्दा पनि समझदारी बढाएर दुई देश भित्रका समस्या समाधान गर्न सरकार लाग्नुपर्ने बताए।

‘हाम्रो प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा खुसी भएर फर्किनुभयो। व्यवहारिक रुपमा के परिवर्तन भएको छ? त्यो हामीले देखिरहेका छौं। हामी चाहन्छौं, भारतसँग राम्रो सम्बन्ध होस्। त्यसक्रममा नेपाल र भारतको सम्बन्धमा परम्परादेखि रहेका केही इभिडेन्सहरू छन्,’ उनले भने, ‘स्वाभिमान, राष्ट्रियताको दृष्टिकोणबाट महत्वपूर्ण विषयहरू छन्। तर, आजको भोलि नै समस्याको समाधान गरिहाल्नुपर्ने नभए सम्बन्ध अघि नै बढ्न नसक्ने अवस्था होइन। केही हाम्रा स्वार्थ, स्वाभिमानसँग गाँसिएका विषयहरू पर्छन्।’

उनले प्रधानमन्त्री दाहाल भारत भ्रमणमबाट खुशी भएर फर्किए पनि व्यवहारीक रुपमा के परिवर्तन भएको भन्ने विषय सबैले देखिरहेको बताए। उनले नेपाल भारतबीच विगतदेखि स्वाभीमान, राष्ट्रियताको दृष्टिकोणबाट महत्वपूर्ण विषयमा समस्याहरू रहेको बताए। 

‘नेपाली जनताको परिवर्तित चाहना र मानसिकतालाई समेत सम्बोधन गर्दै हामीले मुलुकलाई आर्थिक दृष्टिकोणबाट समृद्ध तुल्याउनका निमित्त भारतसँग अत्यन्तै सुमधुर सम्बन्ध राख्नुपर्छ। भारतका असमझदारीलाई सम्बोधन गरेर भारतले तिब्र आर्थिक विकास गरिरहेको छ, त्यसबाट फाइदा लिनुपर्छ,’ थापाले भने।

उनले सन् १९५० को सन्धी, दुइ देशबीच रहेको सीमा सम्बन्धी विवाद, सीमा व्यवस्थापन सम्बन्धी विषय, बेला बेला आउने डुवानसम्बन्धी समस्या र पारवहानसँग सम्बन्धित विषयहरूमा रहेका असमझदारीहरूलाई सरकारले ट्रयाकमा राखेर यसैलाई आधार मानेर अरु सम्बन्धहरुलाई असर पर्न दिनु नहुने बताए।

‘त्यसलाई समग्र रुपमा भन्दाखेरी सन् १९५० को सन्धी, दुई देशबीच रहेको सीमा सम्बन्धी विवाद, सीमा व्यवस्थापन सम्बन्धी विषय, बेला बेला आउने डुवानसम्बन्धी समस्या र पारवहानसँग सम्बन्धित विषयहरुमा केही असुविधाहरु छन् केही असमझदारीहरू छन् । यसलाई हामीले ट्रयाकमा राखेर यसैलाई आधार मानेर अरु सम्बन्धहरूलाई असर गर्नुहुँदैन,’ उनले भने, ‘यी असुविधाहरू छन्, त्यसलाई ट्रयाकमा राखेर निश्चित मेकानिज्मको आधारमा समाधान गर्ने प्रयास गर्नुपर्छ। व्यापार र आर्थिक क्षेत्रको सुदृढीकरणमा हाम्रो ध्यान जानुपर्छ।’

उनले व्यापार र आर्थिक क्षेत्रको सुदृढीकरणमा ध्यान जान आवश्यक रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .