सभामुख निर्वाचन प्रक्रिया अघि बढाउनेबारे सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ।
स्रोतका अनुसार हिजो आइतबार नेकपा सचिवालय बैठकले नेता अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने गरेको निर्णयअनुसार उपभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराएर सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने विषयमा दुई अध्यक्षबीच छलफल भइरहेकाे हाे।
यस विषयमा छलफल गर्न अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बिहानै पुगेकाे स्राेतले जनाएकाे छ।
सभामुखका लागि उम्मेदवार चयन भएसँगै प्रतिनिधिसभालाई सभामुखको चुनाव गराउने बाटो खुलेको छ।
चार महिनादेखि अवरुद्ध संसद् बैठक आज (सोमबार) सुरु गर्ने तयारी छ।
तर त्यसअघि नेकपाकै तर्फबाट संसदमा उपसभामुख रहेकी तत्कालीन एमाले नेतृ शिवमाया तुम्बाहाङ्फेले आफ्नो पदबाट राजीनामा दिनुपर्नेछ। किनकि एउटै पार्टीबाट सभामुख र उपसभामुख राख्न नमिल्ने प्रावधान छ।
त्यसैका लागि अहिले दुई अध्यक्षबीच छलफल भइरहेकाे नेकपा उच्च स्राेतले नेपालखबरलाई जानकारी दिएकाे छ।

प्रतिक्रिया