ad ad

राजनीति


उपराष्ट्रपतिद्वारा एक सय १० फिटको उचाईमा राखिएको झण्डा उद्घाटन

उपराष्ट्रपतिद्वारा एक सय १० फिटको उचाईमा राखिएको झण्डा उद्घाटन

नेपालखबर
साउन १६, २०८० मंगलबार १७:४९, काठमाडौँ

उपराष्ट्रपति रामसहायप्रसाद यादवले मटिहानी वडा नम्बर ७ स्थित तस्मैयाबाबा उद्यानमा रहेको एक सय १० फिटको उचाईमा राखिएको झण्डा फहराएर उद्घाटन गरेका छन्।

मंगलबार महोत्तरीको मटिहानी पुग्नुभएका उनले तस्मैयाबाबा उद्यानमा रहेको एक सय १० फिटको उचाईमा राखिएको झण्डा फहराएर उद्घाटन गरेका हुन्। 

झण्डा उद्घाटन तथा नागरिक अभिनन्दन कार्यक्रममा उपराष्ट्रपति यादवले सीमावर्ती क्षेत्रमा पर्ने मटिहानीमा राष्ट्रध्वज स्थापना गरी यहाँका जनताले राष्ट्रप्रति उच्च अपनत्व देखाएको बताए।

उनले मटिहानी नगर राष्ट्रध्वजको माध्यमबाट देश र मातृभूमिप्रति लगाव र सम्मानको प्रदर्शन गर्नमा सफल भएको पनि बताए। 

उपराष्ट्रपति यादवले नेपाल बहुधार्मिक, बहुजातीय र बहुक्षेत्रीय देश रहेको भन्दै सम्पूर्ण जनताका साथ सामाजिक न्याय, समानता र सम्मानसँगै हरेक वर्ग र समूहको भलाइका लागि लोकतान्त्रिक पद्धतिअनुसार कानूनी व्यवस्थाहरू गरिएको पनि बताए। 

उपराष्ट्रपति यादवले नेपाल र भारतको समस्त वैष्णव मठको प्रधान रहेको लक्ष्मीनारायण मठ, नेपालको सबैभन्दा ठूलो राजगुठी र नेपालको प्रथम शिक्षालय राजकीय संस्कृत पाठशाला मटिहानीमा रहेको भन्दै यो पवित्र भूमिमा देशप्रेम, राष्ट्रभक्ति र राष्ट्रियताको एकताको प्रतिक रहेको नेपालको राष्ट्रध्वज स्थापना गर्नु गौरवको विषय भएकोसमेत बताए। 

उपराष्ट्रपति यादवले तराई–मधेस सुख्खा क्षेत्रमा परिणत भएकोमा चिन्ता पनि व्यक्त गरे।

उनले वर्षा नहुँदा यस क्षेत्रका किसानका साथै आमजनताले धेरै समस्याको सामना गर्नुपरेकाले संवेदनशील भई समस्याको निराकरण गर्नु सरकारको दायित्व भएको पनि बताए।

उपराष्ट्रपति यादवले सो क्रममा पीरवावा मजारको समेत दर्शन गरेका थिए। 

हिन्दु सनातन परम्पराका महासन्त तस्मैयावावा र इस्लाम परम्पराका सुफी सन्त पीरबाबा १६ औं शताब्दीमा आधुनिक मटिहानीको जग बसाउने व्यक्तिका रूपमा चिनिन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .