ad ad

राजनीति


सरकारकै हात फोहर छ, प्रतिशोध साँध्न भ्रष्टाचारका फाइल खोलियो : ज्ञवाली

सरकारकै हात फोहर छ, प्रतिशोध साँध्न भ्रष्टाचारका फाइल खोलियो : ज्ञवाली

नेपालखबर
साउन ९, २०८० मंगलबार १९:३२, पोखरा

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले ललिता निवास तथा भुटानी शरणार्थी तथा पछिल्लो सुन काण्डमा सत्ता गठबन्धनकै व्यक्ति संलग्न भएको आरोप लगाएका छन्। यी प्रकरणमा बदलाको भाव देखाएर फाइल खोलिएको र वास्तविक दोषीलाई उन्मुक्ति दिने प्रपञ्च रचिएको उनको भनाइ छ।

‘आफ्नै हात फोहोर छ अनि अरु सफा गर्छु भनेर हुन्छ? शरीरभरी हिलो लिएर सफा गर्छु भन्नु हुँदैन। अहिले राजनैति प्रतिशोध साँध्नका लागि भ्रष्टाचारका फाइल खोलिएको छ,’ पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘ सुन प्रकरण पनि २२ पटकसम्म कसरी बाहिरियो? यहाँ प्रशासन देखिएन। विमास्थलको सुरक्षा गृहको हुन्छ। अनि त्यही गृहको कर्मचारीको बीचबाट कसरी पास भयो?’

उनले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठकै कारण सुन विमानस्थलबाट बाहिरिएको जिकिर गरे। गृहमन्त्रालय अन्तर्गतको सुरक्षा घेराबाट बाहिरिएर राजस्व विभागले पक्राउ गरेको सुनलाई देखाउँदै गृहमन्त्री नारायणकाजी श्रेष्ठ चर्चामा आउने काम गरेको उनको आरोप थियो।

‘सबै चेकजाँच गरेर बाहिर आउँदा फेलिएर (गृहमन्त्रालय) देखिएन। अनि गृहका एकजनाले ठूलो कुरा गर्दैछन् कसैलाई छाड्दिन,’ गृहमन्त्रीतर्फ लक्षित गर्दै उनले थपे, ‘काम गर्ने हो कसैलाई धम्काउने होइन। २१ पटकसम्म बाहिर नआएको कुरा २२ औं पटकमा कसरी बाहिर आयो? अनि भन्सार, सुरक्षा निकायका हाकिम एकै पटक बिदामा बस्नु चाहिँ के हो? यसलाई संयोग मानौँ वा के त्यो सबैले बुझ्छन्।’

भ्रष्टाचारको छानबिनमा इमान्दारिता नदेखिएको भन्दै उनले लडाकु शिविर प्रकरणलाई समेत खोल्नुपर्ने बताए। प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताको लाभमा परराष्ट्र नीति असन्तुलित बनाएको पनि उनको आरोप थियो।

बुधबार कास्कीको लुम्लेमा हुने गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन पोखरा आएका ज्ञवालीले पत्रकार सम्मेलनमा बोल्दै वर्तमान सरकारले सत्तामा टिकिराख्नका लागि हल्ला बढी गरेको बताए। पत्रकार सम्मेलनको आयोजना प्रेस चौतारी कास्कीले गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .