नेपालमा अटो पार्ट्स भारतबाट आइरहेका बेला तस्करीमा संलग्नहरुले पछिल्लो २ महिनामै १५ पटक सवारीसाधनका ‘ब्रेक प्याड’ भित्र्याएको पाइएको छ।
जबकि हङकङबाट सवारीसाधनका कुनै पनि स्पेयर पार्ट्स नभित्रिने व्यवसायीहरुले बताएका छन्। तर, पछिल्लो २ महिनामै रेडी ट्रेड प्रालिले हङकङबाट १५ पटक भित्र्याएको स्पेयर पार्ट्स ‘नक्कली’ भएको दाबी उनीहरुले गरेका छन्।
राजश्व अनुसन्धान विभागले गत बुधबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट ब्रेक प्याडको नाममा भित्रिएको १६० प्याकेटमा सुन नै भएको उल्लेख गरेको छ। ब्रेक प्याडभित्र हुने ‘ब्रेक सु’ सुनको रहेको अनुसन्धान विभागले उल्लेख गरेको छ।
विभागले बरामद गरेपछि कम्पनीले पछिल्लो २ महिनामा दाह्री काट्ने मेसिन र स्पेयर पार्ट्सका नाममा दर्जनौँ पटक ‘समान’ ल्याएको पनि खुलेको छ।
रेडी ट्रेड प्रालिले हङकङको ‘जाङजेन फेङटोङ ट्रास्पोर्टेसन सर्भिस कम्पनी लिमिटेड’ हुँदै एयरपोर्ट भन्सारबाट ब्रेक प्याड पठाउने गरेको थियो।
कम्पनीले पठाएको उक्त सामान पछिल्लो १५ पटक एउटै ट्रान्सपोर्ट कम्पनीको नामबाट नेपाल भित्रिएको एयरपोर्ट भन्सार कार्यालयले उल्लेख गरेको छ।
हङकङबाट सुन तस्करले पछिल्लो २ महिनामा मात्रै १५ पटक ब्रेक प्याडका नाम पार्ट्स भित्र्याएको पाइएको छ। एयरपोर्ट भन्सारले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो २ महिनामा १ हजार २० पिस त्यस्तो सामान आयात भएको देखिन्छ।
नाडा अटोमोबाइल्स एशोसिएसनका महासचिव सुरेन्द्र कुमार उप्रेतीले हङकङबाट हवाई कार्गोबाट पार्ट्स ल्याएर बजारमा बिक्री गर्न सक्ने अवस्थै नरहेको बताए।
उप्रेतीले रेडी ट्रेड प्रालिले बारम्बार अटो पार्ट्स भित्र्याएको देखाए पनि नाडा अटोमोबाइल्स् एशोसिएनमा त्यसको कुनै सम्बन्ध नरहेको बताए।
‘अटो व्यवसायीसँग त्यो कम्पनी (रेडी ट्रेड)को कुनै सम्बन्ध छैन,’ महासचिव उप्रेतीले भने, ‘तस्करीका लागि नै कम्पनी खडा गरेको देखिन्छ।’
उनले बारम्बार हवाई कार्गोमार्फत ती वस्तु ल्याउँदा विमानस्थल भन्सार अधिकारीहरुले शंका गर्नुपर्ने बताए।
‘एउटै कम्पनीले बारम्बार सस्तो समान हङकङबाट ल्याउँदा शंका गर्नु पर्थ्यो,’ उनले भने, ‘अटो पार्ट्स हवाई मार्गबाट ल्याएर बिक्री गर्न सक्ने ठाउँ नै छैन।’
उप्रेतीले हवाई मार्ग हुँदै अटो स्पेयर पार्ट्स दुबई र सिंगापुरबाट आउने गरेको बताए। तर हङकङबाट त्यस्ता पार्ट्स् आएको रेकर्ड नरहेको उनले बताए।
पछिल्ला २ महिनामा हङकङ हुँदै सवारीसाधनका ब्रेक प्याड मात्रै ९३३ केजी भित्रिएको छ। कम्पनीले ती सामान नेपाल भित्र्याउँदा ३ हजार ६० अमेरिकी डलर मात्रै भन्सार तिरेको देखिएको छ।
नाडा अटो मोबाइल्स एशोसिएसन स्पेयर पार्ट्स वितरक समितिका सभापति सुनिल रिजालले हङकङबाट जेनुन स्पेयर पार्ट्स नआउने बताए।
‘नेपालमा सबैभन्दा बढी स्पेयर पार्ट्स भारतबाटै आयात हुन्छ,’ रिजालले भने, ‘तेस्रो देशका ब्रान्डको स्पेयर पार्ट्स पनि चीनको मेनल्यान्डबाटै आउने गरेका छन्।’
तेस्रो देशबाट पार्ट्स भित्र्याउँदा महँगो हुने गरेको छ। चीनबाट पनि हवाईको साटो उत्तरी सीमा सडक र समुद्रमार्ग हुँदै आउने गरेका छन्। हङकङबाट अटो पार्ट्स कसैले ल्याउँछ भने हरेक पटक शंका गर्ने ठाउँ रहने उनको तर्क छ।
‘हवाईमार्गमाफर्त कार्गो ल्याउँदा प्रतिकेजी १५–१६ (२ हजार) डलर पर्छ,’ उनी भन्छन्, ‘त्यो मूल्यमा त ब्रेक प्याड नै नेपाली बजारमा सजिलै पाइन्छ।’
ब्रेक प्याडको मूल्यमा ४५ प्रतिशत थप शुल्क भन्सार छुटाउँदा नै लाग्ने उनले बताए। हङकङबाट भित्र्याइएको ब्रेक प्याड स्कुटी, मोटरसाइकल वा चार पांग्रे कुनका लागि हो स्पष्ट छैन।
तर, नेपाली बजारमा जति मूल्यमा पाइन्छ, हङकङबाट हवाई कार्गोमार्फत ल्याउँदा भाडादर पनि त्यति नै पर्ने उनी बताउँछन्।
‘मर्सिडिज गाडीकै लागि पार्ट्स ल्याए पनि एकै पटक त्यति धेरै परिमाणको आवश्यक हुँदैन,’ उनले भने, ‘मोडलपिच्छे पार्ट्स फरक हुन्छ। अत्यावश्यक भए हवाई कार्गोबाट ४–५ वटा मात्रै ल्याउँदा हुन्थ्यो।’
अटो पार्ट्स कारोबार गर्दै आएको सत्यदीप इन्टरनेश्नलका दिपेन्द्र कुमार मिश्रले ९० प्रतिशत पार्ट्स भारतबाटै आयात हुने बताउँछन्। २ दशक बढी अटो पार्ट्स व्यवसायमा रहेका मिश्रले पहिलो पटक हङकङबाट पार्ट्स भित्रिएको सुनेको बताए।
‘नेपालको अटो बजारमा भारतीय गाडीकै डोमिनेन्ट छ,’ मिश्रले भने, ‘चीनबाट थोरै मात्रामा पार्ट्स् आउँछ। त्यसमा पनि हवाईमार्गमार्फत अत्यावश्यक भए १–२ गाडीका लागि ल्याउने हो।’
अटो व्यवसायीले नेपाली बजारमै सस्तोमा पाइरहेको समान हङकङबाट आउँदा सोधखोज गर्नुपर्ने बताउँछन्। भन्सारले आँखा चिम्लिँदा बारम्बार ब्रेक प्याडको नाममा अरु वस्तु भित्रिएको उनीहरु बताउँछन्। अघिल्लो हप्ता पनि भन्सारले जाँचपास गरेपछि मात्रै समान भित्रिएका छन्।
Shares
प्रतिक्रिया