ad ad

राजनीति


विश्वप्रकाश भन्छन् : अहिले गठबन्धन बलियो बनाउने हो, ०८४ को चिन्ता ०८३ मा गरौँला

विश्वप्रकाश भन्छन् : अहिले गठबन्धन बलियो बनाउने हो, ०८४ को चिन्ता ०८३ मा गरौँला

फाइल तस्बिर


नेपालखबर
साउन ८, २०८० सोमबार १७:९, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तत्काललाई हाल सत्तामा रहेको वाम-लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाएर जानुको विकल्प नरहेको बताएका छन्। 

गत मंगलबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा सोमबार जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। 

‘मंसिर ४ अघिको गठबन्धनको पुनर्प्राप्ति भएको छ। गठबन्धनलाई बलियो बनाएर जाने र निरन्तरताको खोजीको प्रतिबद्धता हामीबीच हुनुपर्छ’, उनले भने, ‘साथीहरु २०८४ सालको चुनावको पनि कुरा पनि गर्नु हुन्छ। तर ०८४ को चिन्ता ०८३ लागेपछि गरौँला। अहिलेलाई गठबन्धनमै अघि बढ्ने हो।’

उनले अर्को चुनावमा गठबन्धन गर्ने वा एक्लै जाने कुरा अहिले चिन्ता गर्नु नपर्ने पनि बताए। ‘हामी अर्को चुनावमा गठबन्धन गर्छौँ या एक्लै जान्छौँ त्यो अहिले चिन्ताको विषय होइन’, उनले भने, ‘सरकारलाई कायम राख्दै गर्दा हामीलाई डेलिभरी चाहिन्छ। त्यसका लागि कांग्रेसले राम्रा कुराको अपनत्व र नराम्रा कुराको आलोचना ग्रहण गर्दै अघि बढ्नु पर्छ।’

बैठकमा जवाफ दिने क्रममा शर्माले आफूहरुले बैठकको सुरुमा पेस गरेको कार्ययोजना कार्यान्वयन हुने गरी पेस गरिएको बताए। 

‘यो कार्ययोजना कार्यान्वयन हुन सक्छ। धेरै साथीहरुले प्रश्न उठाउनु भएको छ’, उनले भने। 

उनले सरकारले ल्याएको नागरिकता विधेयकको अपनत्व कांग्रेसले लिने बताए। ‘यो सरकारको कमजोरीको आलोचना गर्ने र राम्रा कुराको स्वामित्व लिने काम हाम्रो हो। भारतलाई १० हजार मेगावाट बिजुली बेच्ने कुार भएको छ। युवालाई बेचिराखेर अर्थतन्त्र धानिरहेको देशमा अब बिजुली बेचेर बलियो बनाउनुपर्छ’, उनले भने, ‘भ्रष्टचारविरुद्ध फाइल खुलेको छ। व्यक्ति को पर्दैछन् भन्ने मुख्य कुरा होइन। नक्कली शरणार्थी या ललिता निवास सबैको फाइल खुलेको छ। सरकारले फाइल खोल्दै गर्दा त्यसलाई तागत दिने काम कांग्रेसले गरेको छ।’

उनले विभिन्न काण्डमा विभिन्न नेता मुछिएका बताउँदै भ्रष्टाचारविरुद्धको कानुन कांग्रेसकै नेतृत्वमा बनेको पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .