राजनीति


कांग्रेसमा ४६ जिल्लाबाट अनुशासन उलंघनका २१ सय उजुरी

कांग्रेसमा ४६ जिल्लाबाट अनुशासन उलंघनका २१ सय उजुरी

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक। तस्बिर : सरोज नेपाल


नेपालखबर
साउन २, २०८० मंगलबार १९:१०, काठमाडौँ

प्रमुख सत्तारुढ नेपाली कांग्रेसका देशभरबाट २ हजार १०० वटा अनुशासन उलंघनका उजुरी परेका छन्।

मंगलबारदेखि सानेपामा सुरु केन्द्रीय कार्यसमिति बैठकमा अनुशासन समितिको प्रतिवेदन प्रस्तुत गर्दै संयोजक आनन्दप्रसाद ढुंगानाले यसबारे जानकारी दिएका हुन्।

‘पार्टी विधानविपरीत गएर अनुशासन उलंघनमा ४६ जिल्लाबाट २१ सय उजुरी परेका छन्’, उनले बैठकमा भने, ‘यसबारेमा हामीले अझै पनि छानबिन पूरा गर्न बाँकी छ। तर पार्टी नीतिविपरीत जाने नेता कार्यकर्ताको संख्या धेरै देखिएको छ।’

उनले पार्टी निर्देशनविपरीत जानेहरुलाई गत वैशाख १० गतेको उपनिर्वाचनमा कारबाही फुकुवा गरिएको बताए। ‘उपनिर्वाचनमा पार्टीको पक्षमा गठबन्धनलाई विजयी गराउन खटिनेहरुको कारबाही त्यतिबेलै फुकुवा गरिएको छ’, उनले भने, ‘बारा, तनहुँ र चितवनका कार्यकर्ताको कारबाही फुकुवा भएको हो।’ 

उनले पार्टी हितविपरीत गएर पछि माफी माग्नेहरुमध्ये ८७ जनाको कारबाही फुकुवा गरिएको बताए। 

‘महोत्तरीको बर्दिबास नगरपालिकाका मेयर उपमेयर, जुम्लाको चन्दनाथ नगरपालिकाका मेयरको कारबाही फुकुवा भएको छ। जंगीलाल रायको कारबाही पनि फुकुवा गरेका छौँ। यसबीचमा ३५ जनाको कारबाही फुकुवा भएको छ’, उनले भने, ‘निर्वाचन जितेपछि गल्ती गर्यौँ भनेर निवेदन हालेकाहरुको कारबाही फुकुवा भएको छ। गल्ती गर्यौँ, माफी माग्छौँ भनेकाहरुको कारबाही फुकुवा भएको छ।’

उनले चितवनका केन्द्रीय सदस्य दिनेश कोइरालासहितको कारबाही फुकुवा गरिएको पनि बैठकमा जानकारी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .