संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भोजपुरस्थित एक सरकारी कार्यालयबाट आफ्नो नाममा सय लिटर डिजल ठग्ने समूहलाई कारबाही गर्न त्यहाँका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन्।
मन्त्री किराँतीका अनुसार उनी गृहजिल्ला भोजपुरबाट यही असार १८ गते नै काठमाडौं फर्के पनि असार २२ गते भोजपुरको एक सरकारी कार्यालयमा कुनै एक समूह गएर उनको नाममा १०० लिटर डिजल सहयोग बुझिलगेको पाइएको हो।
उक्त घटनाले आफू दुःखी भएको उल्लेख गर्दै डिजल लाने व्यक्तिलाई पहिचान गरी तत्काल कारबाहीका लागि आफूले त्यहाँका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको मन्त्री किराँतीले बताएका छन्।
उनले भनेका छन्, ‘(डिजेल लाने) मान्छेको पहिचान गरी तत्काल कारबाही गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छु। चाहे जोसुकै परोस्।’
आफ्नी आमाले भनेको ‘सियो चोर्नेले फाली चोर्छ, फाली चोर्नेले घरै फोर्छ’ उक्ति मनन गर्दै थोरै भए पनि भ्रष्टाचार भएको आफू सहन नसक्ने उनले उल्लेख गरेका छन्।
‘भन्लान् यो पनि स्टन्ट! तर मैले भन्नैपर्छ र सबैले जान्नै पर्छ, यो हाम्रो प्रवृत्ति हो, यसको अन्त्य हुनै पर्छ। सानो होस् या ठूलो यो भ्रष्टाचार हो’, उनले भनेका छन्, ‘भ्रष्टाचार हाम्रो शत्रु हो।’

Shares

प्रतिक्रिया