ad ad

राजनीति


सोमबार सभामुख चयन प्रक्रिया शुरु हुन्छ: महासचिव पौडेल

सोमबार सभामुख चयन प्रक्रिया शुरु हुन्छ: महासचिव पौडेल

नेपालखबर
माघ २, २०७६ बिहिबार १३:५७,

रिक्त सभामुख पदमा कसलाई चयन गर्ने भन्ने विषयमा सत्तारुढ दल नेकपाभित्रै हप्तौंदेखि रस्साकस्सी चलिरहेका बेला सो पार्टीका महासचिव विष्णु पौडेलले सोमबारको संसद बैठकबाट सभामुखको निर्वाचन प्रक्रिया शुरु हुने बताएका छन्।

सभामुख कसलाई बनाउने भन्ने विषयमा पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नै गम्भीर मतभेद भइरहेका बेला पार्टीका महासचिवले सो विषय सोमबारअघि नै टुंगिने बताएका हुन्।

पूर्वमाओवादी कृष्णबहादुर महराले राजिनामा दिएपछि रिक्त भएको पदमा प्रचण्डले पूर्वमाओवादी नेतालाई नै चयन गर्न चाहेका छन् भने प्रधानमन्त्री ओलीले आफ्नै विश्वासिलो नेतालाई संसद प्रमुख बनाउन चाहँदा दुई नेताबीच नै गम्भिर मतभेद भएको छ।

विवाद बढेपछि दुई नेताबीच चारदिनको संवाद्हिनतापछि बिहीबार मात्र ओली र प्रचण्डबीच बैठक भएको हो।

पछिल्लो गतिरोध अन्त्य गर्न दुवै अध्यक्षहरुसँग निरन्तर संवादमा रहेका महासचिव पौडेलले सोमबारको प्रतिनिधिसभा बैठकअघि नै अहिलेको विवादले निकास पाउने बताएका छन्।

‘माघ ६ गतेअघि नै सबै विषयलाई समाधान गर्नेगरी छलफल अघि बढेको छ। माघ ६ गतेको बैठकबाट सभामुखको निर्वाचन प्रक्रिया शुरु हुन्छ,’ महासचिव पौडेलले नेपालखबरसँग भने, ‘पछिल्लो छलफल पनि निकै सकारात्मक भएको छ। आजको बैठक पनि समाधानउन्मूख छ।’

सभामुख चयनका विषयमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीच संवादहिनताको स्थिति सिर्जना भएपछि सहमति खोज्नका लागि महासचिव पौडेल र सचिवालय सदस्य बामदेव गौतमले दुवैसँग निरन्तर छलफल गरेका थिए। ‘यो त मेरो नियमित काम नै हो’ पौडेलले भने।

चार दिनको संवादहिनतापछि बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको ओली र प्रचण्डबीच छलफल भएको हो।

गत आइतबार उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव पौडेल र दुई अध्यक्षसहितको बैठकमा अध्यक्ष प्रचण्डले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजिनामा गर्न आग्रह गरेका थिए।

तर तुम्बाहाङफेले पार्टीले आफूलाई राजिनामा गर्न निर्देशन दिन नमिल्ने र सभामुखको नाम चयन नभएसम्म आफूले राजिनामा दिन नसक्ने अडान राखेकी थिइन्। उनको अडानपछि सो विषयमा गतिरोध लम्बिएको थियो।

त्यसअघि, शनिबार प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकले तुम्बाहाङफेलाई उपसभामुख पदबाट राजिनामा गर्न आग्रह गरेको थियो। प्रधानमन्त्री निवासमैं भएको सो बैठकमा प्रधानमन्त्री ओली भने उपस्थित थिएनन।

पार्टी सचिवालयको निर्णय नै उपसभामुखले अवज्ञा गरेपछि सभामुख चयनको विषय थप जटिल बन्दै गएको हो। त्यसैले गर्दा संसदको बैठक लगातार तेस्रोपटक सूचना टाँस गरेर स्थगित गरिएको थियो। अर्को बैठक साेमबारका लागि बोलाइएको छ।

संवादहिनताको अन्त्य
प्रचण्ड निकट एक स्थायी समिति सदस्यका अनुसार बिहीबार बालुवाटारमा भएको दुई अध्यक्षबीचको छलफल सकारात्मक भएपनि कुनै निर्णयमा भने पुग्न नसकेको बताए। ती नेताले नेपालखबरसँग भने, ‘निर्णय केही भएको छैन। संवादहिनताको अवस्थाको अन्त्य भएको छ।’

प्रचण्ड निकट अर्का नेता हरिबोल गजुरेलले पनि ओली र प्रचण्डबीचको छलफल सकारात्मक दिशातिर गएको र समस्या समाधानतर्फ उन्मुख रहेको बताए।
‘समस्या साँघुरिएको छ र समाधान हुनेगरी सकारात्मक दिशातिर गएको छ’, ती नेताले नेपालखबरसँग भने, ‘दुई अध्यक्षबीचमा सहमतिको निर्णय गराउन फेरि वालुवाटारमा छलफल हुन्छ।’

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले दुई अध्यक्षबीचमा छलफल भएको सूचना आएपनि विस्तृत जानकारी नआइसकेको प्रतिक्रिया दिए।

खनालले उपसभामुखले राजिनामा नदिएको कारण समस्या आएको भन्दै उनको राजिनामा आएपछि प्रक्रिया सुरु भइहाल्ने दाबी गरे।

तुम्बाहाङ्फेको राजिनामा नगर्ने अडानले दुई अध्यक्षबीचमा समेत केही मतभेद बढेको थियो। त्यसले प्रचण्डलाई झस्काएको मात्र थिएन, उपसभामुखलाई कसैले उचालेको निष्कर्ष समेत उनले निकालेका थिए।

त्यसपछि प्रचण्ड सोमबारदेखि बालुवाटार पनि गएनन् र राजनीतिक भेटवार्ता समेत कम गरेका थिए।

नेकपाका महासचिव विष्णु पौडेल र वामदेव गौतमले ओली प्रचण्डबीचको संवादहिनता अन्त्य गर्न सक्रिय रहेका थिए। यसबीचमा महासचिव पौडेल पटक–पटक प्रचण्ड निवास खुमलटार गएका थिए। खुमलटार स्रोतका अनुसार उपसभामुखले राजिनामा गर्न अस्वीकार गरेपछि रुष्ट भएका प्रचण्डसँग महासचिव पौडेलले खुमलटार पुगेरै भेटवार्ता गरेका थिए।

‘दैनिकजसो महासचिव आइरहनुभएको छ,’ स्रोतले भन्यो। त्यसैगरी नेकपा उपाध्यक्ष वामदेव गौतम पनि प्रचण्ड र ओलीबीचमा संवाद गराउन लागिपरेका थिए।

पुस २३ गते अध्यक्ष प्रचण्डसहित उपाध्यक्ष गौतम, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठबीचमा एमसीसी, सभामुख चयनका विषयमा गौतम निवास भैसेपाटीमा छुट्टै भेला गरी छलफल गरेपछि प्रधानमन्त्री ओली प्रचण्डसँग रुष्ट भएका थिए।

त्यसपछि पुस २६ गते वालुवाटारमै बसेको सचिवालय बैठकमा स्वास्थ्य अवस्थाको कारण देखाउँदै ओली सहभागी भएनन्।

बिहीबार भने ओली र प्रचण्डबीच वालुवाटारमै झण्डै दुई घण्टा भएको छलफलमा सभामुख चयनका विषयमा देखिएका समस्याहरुको समाधान गर्दै अघि बढ्ने सहमति जुटेको हो।

संसदकै एक महिला कर्मचारीले बलात्कार प्रयासको आरोप लगाएपछि तत्कालिन सभामुख कृष्णबहादुर महराले असोज १४ गते राजिनामा दिएपछि सभामुख पद रिक्त छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .