ad ad

राजनीति


परराष्ट्रले थाल्यो प्रधानमन्त्रीको चीन भ्रमणको तयारी, एजेन्डाबारे छलफल सुरु

परराष्ट्रले थाल्यो प्रधानमन्त्रीको चीन भ्रमणको तयारी, एजेन्डाबारे छलफल सुरु

फाइल तस्बिर


नेपालखबर
असार २०, २०८० बुधबार १७:४०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को चीन भ्रमणको प्रारम्भिक तयारी सुरु भएको छ। भारत भ्रमण सम्पन्न भएको झण्डै एक महिनापछि परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको चीन भ्रमणको तयारी सुरु गरेको हो। यद्यपि, मिति भने तय भइसकेको छैन।

स्रोतका अनुसार परराष्ट्र मन्त्रालयको उत्तर–पूर्वी महाशाखाले प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा उठाउनुपर्ने एजेन्डाहरुका विषयमा सम्बन्धित मन्त्रालय र निकायहरुसँग छलफल थालेको छ। मन्त्रालयको सोही महाशाखाले चीन मामिला हेर्ने गर्छ। 

‘नेपालले आगामी अगस्ट वा सेप्टेम्बर (साउन–भदौ) मा हुने गरी भ्रमणको प्रस्ताव गरेको छ। तर बेइजिङबाट मिति तय भइसकेको छैन,’ मन्त्रालय स्रोतले भन्यो, ‘भ्रमण पक्काजस्तै भएकाले परराष्ट्र मन्त्रालयको सम्बन्धित महाशाखाले तयारी सुरु गरेको हो।’ 

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले अघिल्लो हप्ता एक अन्तर्वार्तामा अगस्टभित्र प्रधानमन्त्रीको चीन भ्रमण गराउने नेपाली पक्षको प्रयास रहेको बताएका थिए। लगत्तै परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको चीन भ्रमण सेप्टेम्बरमा हुने बताए। 

‘सेप्टेम्बरमा प्रधानमन्त्रीको चीन भ्रमण हुनेछ, भ्रमणका क्रममा केही उपलब्धि हासिल हुनेछन्,’ कैलालीको धनगढीमा १८ असारमा आयोजित कार्यक्रममा मन्त्री साउदले भनेका थिए, ‘चीनले विकासमा तीव्रतर छलाङ मारेको छ। विकासमा उसले मारेको छलाङलाई नेपालले उपयोग गर्न सक्नुपर्छ।’  

चीनले यसअघि घोषणा गरेको ठूलो परिमाणको सहयोग रकमका विषयमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा थप सहमति हुनेछन्। नेपालले परियोजना तय गर्न नसक्दा घोषणा गरेअनुरुपको रकम चीनबाट प्राप्त गर्न सकेको छैन।  

यसैगरी  यसपटकको चीन भ्रमणमा कृषि, पर्यटन, सीमा लगायतका विषयमा पनि छलफल र केही सहमति हुनसक्ने सम्भावना छ। यस विषयमा तयारीका लागि विभिन्न मन्त्रालयसँग सो महाशाखाले यसै हप्तादेखि छलफल सुरु गरेको छ। 

नेपालले साउन–भदौमा प्रस्ताव गरे पनि चीनले गत चैतमा नै प्रधानमन्त्री प्रचण्डको भ्रमण गराउन चाहेको थियो। १४–१७ चैत (२०७९) मा भएको बोआओ फोरममा सहभागिताका लागि प्रचण्डलाई चीनले निम्ता दिएको थियो।

तर, त्यसअघि नै पहिलो विदेश भ्रमण भारतमा गर्ने बताइसकेका प्रधानमन्त्री चीन गएनन्। कारण भने त्यसअघि भएको राष्ट्रपति, उपराष्ट्रपति लगायतका निर्वाचनलाई देखाइयो।   

प्रधानमन्त्रीको भारत भ्रमण (१७–२० जेठ) सम्पन्न भएलगत्तै नेपालले  चीन अगस्ट वा सेप्टेम्बरमा भ्रमण गर्ने गरी प्रस्ताव गरेको हो। 

नेपालले साउन वा भदौमा भ्रमणको प्रस्ताव गरे पनि चीनले चाहिँ प्रधानमन्त्रीको भ्रमण असोजमा प्रस्ताव गर्न सक्ने सम्भावना छ। 

किनकि चीनको हाङ्जाओमा एसियाली खेलकुद प्रतियोगिता आगामी ६ असोजदेखि सुरु हुँदैछ।  सम्भवतः त्यसै अवसर पारेर चीनले आफ्नो मुलुकमा प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्नेछ। 

पहिलो पटक प्रधानमन्त्री हुँदा पनि चीनले प्रधानमन्त्री प्रचण्डलाई खेलकुद समारोहकै अवसर पारेर आफ्नो मुलुकमा स्वागत गरेको थियो। सन् २००८ (२०६५) मा बेइजिङमा आयोजित ओलम्पिक प्रतियोगिताको समापन समारोहमा सहभागिताका लागि उनी निम्त्याइएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .