ad ad

राजनीति


प्रचण्डलाई मिनेन्द्रको जवाफ- राष्ट्रपति बन्नु गिरिजाबाबुका लागि मुख्य थिएन

प्रचण्डलाई मिनेन्द्रको जवाफ- राष्ट्रपति बन्नु गिरिजाबाबुका लागि मुख्य थिएन

नेपालखबर
असार १८, २०८० सोमबार १८:५४, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले स्व‍. गिरिजाप्रसाद कोइरालाका लागि राष्ट्रपति बन्नु/नबन्नुको कुरा प्रमुख विषय नरहेको स्पष्ट पारेका छन्।

सोमबार नेपाल प्रेस युनियनले काठमाडौंमा गरेको श्रम, अधिकार र सम्झनामा गिरिजाबाबु नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।

सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले स्व. गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा स्वं. कोइरालालाई आफूले राष्ट्रपति नबनाएकोमा पश्चताप लागेको बताएका थिए। 

प्रधानमन्त्री दाहालले आफू गणतन्त्रको पहिलो प्रधानमन्त्री हुँदा कोइरालालाई पहिलो राष्ट्रपतिको प्रस्ताव गर्नुपर्ने तर आफूले गर्न नसकेकोमा पश्चताप भएको बताएका थिए। 

प्रधानमन्त्रीको सो अभिव्यक्तिबारे नेता रिजालले स्व. कोइरालालाई प्रधानमन्त्री दाहालले जति तिल लिएर श्रद्धाञ्जली व्यक्त गरेपनि नपुग्ने बताए। 

उनले प्रधानमन्त्री दाहाललाई स्व। गिरिजाप्रसाद कोईरालालाई धेरै तिल हालेर श्रद्धाञ्जली दिएर पुग्छ भन्ने नठान्न आग्रह गरे। उनले कांग्रेससँगको प्रधानमन्त्रीको अहिलेको यात्रा १२ बुँदे समझदारीको निरन्तरता भएको पनि बताए। 

नेपालको वर्तमान राजनीति स्व. कोइरालाको दिशा निर्देशअनुसार चलेको रिजालको दाबी छ।

नेता रिजालले प्रधानमन्त्री दाहालले १२ बुँदै सम्झौताको हरेक मसीको गहिराईलाई गम्भीरतापूर्वक बुझेर अघि बढे दाहालको राजनीतिक जीवन नेपाली जनताको सेवा गर्ने अवसर हुने बताए।

नेताले रिजालले के भने?
प्रधानमन्त्रीले त्यो व्याख्यालाई त्यत्तिमै सिमित नगर्नुभए उचित हुन्छ। उहाँले गिरिजप्रसाद त गइसक्नुभयो, जति तिल लिएर श्रद्धाञ्जली व्यक्त गरेपनि व्यक्तिगत हानी पो के होला भनेर बोलेर मात्रै पुग्दैन। प्रधानमन्त्रीले आज गिरिजाबाबुका बारेमा बोल्नुभयो, सुन्दा कुनैपनि कांग्रेसलाई आनन्द लाग्यो, हाम्रो यस्तो नेता हुनुहुन्थ्यो, प्रधानमन्त्री आज पनि उहाँप्रति कृतकृत हुनुहुुन्छ। उहाँबाट प्रेरणा लिनहुन्छ। तर मैले प्रधानमन्त्रीलाई भन्नुपर्छ। प्रधानमन्त्रीजी गिरिजाप्रसाद कोईराला बितेर जानुभयो, त्यसैले स्व. गिरिजाप्रसाद कोइरालालाई थुप्रै तिल हालेर श्रद्धाञ्जली दिएर पुग्छ भन्ने ठान्नुभएको छ भने पुग्दैन। कांग्रेसको संरचनागत चरित्र हो। कांग्रेसको जोसुकै नेताले पनि बिपीदेखि गिरिजाप्रसाद कोइराला त्यसपछिका नेतासम्मको एउटा परम्परालाई बोकेको छ। कांग्रेस आफू वचनमा इमान्दार छ। कांग्रेस आफूले चित्त बुझेको बाटोमा शिरमा बोकेर हिँड्न तयार छ। आफ्ना आस्था र सीमाहरु भन्दा बाहिर व्यहोर्नुपर्ने भयो भने कांग्रेस जुनसुकै पनि जोखिम उठाउन तयार छ। कांग्रेस नरम छ, त्यत्तिकै गरम पनि छ। कांग्रेस हिजो पनि त्यस्तो थियो, आज पनि त्यस्तो छ। त्यसैले प्रधानमन्त्रीले आज हामीले उहाँसँग बसेर गरेको हस्ताक्षरको हरेक मसीको गहिराईलाई गम्भीरतापूर्वक बुझ्नुभयो भने उहाँको राजनीतिक जीवन गिरिजाप्रसाद कोइराला होइन, अरु थुप्रै काँग्रेसका नेताहरुको सहयोग र सहवासबाट आफ्नो राजनीतिक आकांक्षा नेपाली जनताको सेवा गर्ने अवसर हुनेछ होइन भने गिरिजाप्रसाद कोईराला उहाँले त राष्ट्रपति बनाइन मात्रै भन्नुभयो, बन्ने नबन्नेकुरा गिरिजाबाबुका लागि प्रमुख थिएन। मुलुकको राजनीति, १२ बुँदेको समझदारीको बाहिर लिएर जान खोज्दा प्रचण्डजी प्रधानमन्त्री रहनुभएन। अहिले पनि काँग्रेससँगको उहाँको यात्रा १२ बुँदे समझदारीको निरन्तरता हो। अहिले पनि कांग्रेससँग उहाँको यात्रा नेपालको संविधानको मर्म र भावना र अक्षर अनुसारको यात्रा हो। अहिले पनि हाम्रो उहाँसँगको यात्रा इमान्दारिताको हो। सहकार्यको हो, नेपाललाई समृद्धिमा पुर्‍याउनका लागि विश्वास र आस्थाको हो। त्यो बाटोमा उहाँ रहनुभयो भने, आज बिहान उहाँले शताब्दी श्रद्धाञ्जली अर्पण गर्दा गिरिजाबाबुलाई दिनुभएको श्रद्धाञ्जलीको वचन गिरिजाबाबुले शुरु गर्नुभएको राजनीतिको अर्डर हो। आजको नेपाली राजनीतिको निर्देशन गिरिजाबाबुले दिनुभएको, परिभाषित गर्नुभएको राजनीति हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .