ad ad

कारोबार


उद्योग मन्त्रालय भन्छ : वर्षायाममा खाद्यान्न अभाव हुँदैन

उद्योग मन्त्रालय भन्छ : वर्षायाममा खाद्यान्न अभाव हुँदैन

नेपालखबर
असार १८, २०८० सोमबार १९:२, काठमाडौँ

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस वर्षको वर्षायाममा कहीँ कतै खाद्यान्न अभाव नहुने बताएको छ।

देशभरको गोदाममा खाद्यान्न मौजाद रहेको र थप खाद्यान्न खरिद र ढुवानी प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार हाल काठमाडौं उपत्यका तथा तराईका जिल्लाहरुमा ३६ हजार ३ सय ५६ क्विन्टल खाद्यान्न मौजाद छ। त्यस्तै अति दुर्गम तथा दुर्गम जिल्लाहरुमा २५ हजार ५ सय ५ क्विन्टल खाद्यान्न मौजाद रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको तथ्यांक छ।

प्रतिस्पर्धाको माध्यमबाट खुला बजारबाट थप खाद्यान्न खरिद भइरहेको र थप चामल खरिदका लागि बोलपत्र आह्वान गर्ने प्रक्रिया पनि जारी रहेको छ। हाल २६ हजार ३ सय ७५ क्विन्टल धान मौज्दात छ।

भारतबाट आयात कोटा अन्तरगत साल्ट ट्रेडिङ मार्फत तत्काल ३४ हजार ३ सय २० क्विन्टल गहुँ तत्काल प्राप्त हुने छ। यसो गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग कुल २ लाख ६६ हजार ३ सय क्विन्टल खाद्यान्न मौज्दात रहनेछ।

हाल खुला बजारबाट प्रतिस्पर्धाका माध्यमबाट सम्झौता भएको ८९ हजार १०० क्विन्टल खाद्यान्न कम्पनीको गोदाममा आइरहेको र भारतबाट आयात हुने खाद्यान्न पनि लोड भइसकेको जनाईएको छ।

चालु आर्थक वर्षको असार १२ गतेसम्म दुर्गमका जिल्लाहरुमा १७ हजार ८ सय ३० मेट्रिक टन खाद्यान्न ढुवानी भएको छ। बढी खाद्यान्न समस्या देखिएको हुम्लामा ४ हजार क्विन्टल कोटा थप गरी हवाइमार्गबाट दैनिक ढुवानी भइ वितरण भइरहेको छ।

बझाङमा पनि १ हजार क्विन्टल कोटा थप गरिएको छ। पूर्वी जिल्लाहरुमा पनि पर्याप्त खाद्यन्न मौजाद रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले स्पष्ट पारेको छ।

पालिकास्तरमा भने खाद्यान्न सञ्चिती गर्ने गोदाम नभएकाले आवश्यक मात्रामा बिक्री केन्द्रहरुमा खाद्यान्न ढुवानी गरेर वितरण भइरहेको कम्पनीले जनाएको छ।

चालु आर्थिक वर्षमा हालसम्म पालिकास्तरबाट माग भएका स्थानहरुमा ४७ हजार ३ सय ३४ क्वीन्टल चामल वितरण भइसकेको छ। कतिपय स्थानमा भने माग नै नभएकाले आपूर्ति नगरिएको कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .