नेपाल कम्युनिस्ट पार्टी (नेकापा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भएको वार्ता सकारात्मक भएको सचिवालयलाई ‘ब्रिफिङ’ गरेका छन्।
प्रधानमन्त्री एवं अध्यक्ष ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार मध्यान्ह भएको झण्डै दुई घण्टा वार्तापछि हर्षित मुद्रामा खुमलटार फर्किएपछि अध्यक्ष प्रचण्डले आफ्नो सचिवालयलाई वार्ता सकरात्मक भएको ब्रिफिङ गरेका हुन्।
प्रधानमन्त्री ओली र प्रचण्डबीच सभामुख चयनका विषयमा जारी गतिरोधलाई निकास दिएर जाने सहमति भएको स्रोतले बताएको छ।‘दुई अध्यक्षबीचको वार्ता सकारात्मक भयो, दुवैजना खुसी भएर छुट्नुभएको छ’, स्रोतले नेपालखबरसँग भन्यो।
यता प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने वार्तामा कुनै सहमति नभएको बताए। ‘दुई अध्यक्षबीच छलफल भएको हो, खासै नयाँ कुरा केही भएको छैन’, थापाले नेपालखबरसँग भने।
सभामुख चयनका विषयमा दुई अध्यक्ष ओली र प्रचण्डबीच आ–आफ्नै अडान हुँदा संसदको बैठक ३ पटक सूचना टाँस गरेर सारिएको छ। पुस ११,, १६ र २७ गतेका लागि डाकिएको संसद बैठक ओली–दाहालबीच सभामुख कसलाई बनाउने भन्ने सहमति नहुँदा रोकिएको थियो। अब संसद बैठक माघ ६ गते बस्दैछ।
सभामुख चयन गर्नका लागि उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिनुपर्ने भए पनि उनले राजीनामा दिन अस्वीकार गर्दै आएकी छन्। सोही कारण तीन दिनदेखि प्रचण्ड बालुवाटार गएका थिएनन्।
प्रचण्ड सचिवालयका अनुसार ओली र प्रचण्डबीच एक्लाएक्लै वार्ता भएको थियो। ‘के–के विषयमा छलफल भयो, सार्वजनिक गरिएको छैन’, सचिवालयले नेपालखबरसँग भन्यो, ‘तर, उहाँले वार्ता सकारात्मक भएको र जारी गतिरोध अन्त्य गराउने विश्वास लिएको पाएका छौं।’

प्रतिक्रिया