नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक यही असार २३ गते बस्ने भएको छ।
प्रज्ञा प्रतिष्ठान (कमलादी) मा बिहान ११ बजे बैठक बस्न लागेको पार्टीका महासचिव देव गुरुङले जानकारी दिए।
उनका अनुसार बैठकका लागि २ महिने अभियानको समीक्षा प्रतिवेदन तथा स्थानीय, प्रदेश र केन्द्रीय चुनावको समीक्षा प्रतिवेदन पेस गर्ने एजेन्डा तय गरिएको छ।
साथै बैठकले समाजवादी मोर्चाका विषयलाई अनुमोदन गर्ने उनले बताए।
यही असार ५ गते माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गरिएकाे छ।
यस्तै, पूर्वमाओवादी घटकसँग एकताको विषयले पनि केन्द्रीय समितिको बैठकमा प्रवेश पाउने महासचिव गुरुङको भनाइ छ।
केन्द्रीय समितिको बैठकका लागि ठोस एजेन्डा तय गर्न केही दिनमै सचिवालय र स्थायी समिति बैठक बस्नेछ।
माओवादी केन्द्रले तल्ला तहका समितिलाई पार्टी केन्द्रलाई दिनुपर्ने सुझाव लेखेर पठाउन भनेको छ।
अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले प्रदेश तहका इन्चार्ज र अध्यक्षलाई विशेष परिपत्र पठाउँदै ५ बुँदे निर्देशन दिएका छन्।
जसमा असार १५ भित्र सबै प्रतिवेदन केन्द्रमा पठाउन भनिएको छ।
Shares
प्रतिक्रिया