ad ad

राजनीति


प्रेम चलाउनेमाथि कुटपिट : नेविसंघका कार्यकर्ताको मुद्दा फिर्ताबारे रास्वपाले संसद्‍मा उठायो प्रश्न

प्रेम चलाउनेमाथि कुटपिट : नेविसंघका कार्यकर्ताको मुद्दा फिर्ताबारे रास्वपाले संसद्‍मा उठायो प्रश्न

फाइल तस्बिर


नेपालखबर
असार ५, २०८० मंगलबार १२:११, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको ज्यान मार्ने उद्योगको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति आपत्ति जना‌एका छन्। 

मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले उपप्राध्यापक चलाउनेलाई न्याय दिन र पीडिक नेविसंघका विद्यार्थीलाई दण्डित गर्न पनि सरकारसँग माग गरे।

उनले समाज शास्त्रका उपप्राध्यापक चलाउनेलाई विश्वविद्यालय परिसरमै मरनासन्न हुने गरी कुटपिट गर्नेहरुलाई कडाभन्दा कडा कारबाही गर्नुको सट्टा मुद्दासमेत फिर्ता लिएर सरकारले अन्याय गरेको भन्दै आक्रोश पोखे।

‘२०७७ साल आसोज २० गते त्रिभुवन विश्वविद्यालय समाजशास्त्रका प्रोफेसर एटिएममा भएको पैसा झिक्न जान्छन्। त्यहीबेला नेविसंघ निकट विद्यार्थीहरुले फलामको रडले मरनासन्न हुने गरी कुट्छन्। ३ वर्षसम्म धेरै ठाउँ जान्छन्, ती प्राध्यापक न्याय माग्न। भौतारिएर हिँडछन्’, उनले भने, ‘जेठ ३० गते मन्त्रिपरिषदले उक्त मुद्दा फिर्ता लिने निर्णय गर्छ। हामी कुनै बेला नेपाललाई शान्ति क्षेत्र भन्थ्यौँ। आज कमसेकम विश्वविद्यालयहरु शान्ति क्षेत्र हुन भन्ने हाम्रो अवधारणगत बुझाई हो।’ 

प्रहरीलेसमेत छिर्न नपाउने विश्वविद्यालयमा गुण्डागर्दी गर्नेको मुद्दा फिर्ता लिएर गलत गरेको पनि बताए। 

‘प्रहरी पनि भित्र जान पाउँदैनन् भन्ने हाम्रो शान्तिको मान्यतालाई गण्डागर्दीको शैलीमा दिनदहाडै कुटपिट गरेर मरनासन्न बनाएको मान्छेको मुद्दा फिर्ता लिने यो कहाँको न्याय हो? न्याय चाहिन्छ। न्यायलाई मर्न नदिऊँ। न्याय पनि मर्‍यो भने हाम्रो आशा रहँदैन’, उनले भने, ‘विश्वविद्यालयजस्तो क्षेत्रमा त्यसरी गुण्डागर्दी शैलीमा मरनासन्न हुने गरी कुटनेहरुलाई नछोडौं। म सम्माननीय सभामुखमार्फत नेपाल सरकारको गृहमन्त्रीलाई अनुरोध गर्न चाहन्छु। कृपया, यो गल्ती सच्याउनुस्। पीडितलाई न्याय दिनुस्।’

प्रमुख सचेतक परियारले शैक्षिक संस्थाहरु शान्ति क्षेत्र हुने मान्यतालाई समेत तिलाञ्जली दिने काम गरेका नेविसंघका विद्यार्थीहरुमाथि लगाइएको ज्यान मार्ने उद्योगअन्तर्गतको मुद्दा सरकारले फिर्ता लिन नमिल्ने जिकिरसमेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .