ad ad

राजनीति


संसदमा उठ्यो चुरेदेखि छाङरु र तिकंरका जनताको जनगणनासम्मको विषय

कुन सांसदले के भने?
संसदमा उठ्यो चुरेदेखि छाङरु र तिकंरका जनताको जनगणनासम्मको विषय

प्रतिनिधिसभा बैठक (फाइल तस्बिर)


नेपालखबर
जेठ ३२, २०८० बिहिबार १४:५७, काठमाडौँ

सांसदहरूले सवारी दुर्घटना, आगामी आर्थिक वर्षको बजेट, ढल निकास, जलवायु परिवर्तन, छाङरु र तिकंरको जनसंख्या लगायतका विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। 

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा भाग लिँदै सांसद बिजुला रायमाझीले आर्थिक वर्ष २०८०/८१ को बजेट वास्तविक कृषकलाई प्रोत्साहन हुनेगरी नआएको गुनासो गरेकी छिन्।

रायमाझीले कृषिप्रधान देश भनिएपनि वास्तविक कृषकलाई प्रोत्साहन हुने ठोस योजना बजेटमा नदेखिएको बताइन्। साथै, उनले सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने पनि बताइन्।

अर्की सांसद विद्या भट्टराईले पोखरामा वर्षा हुनासाथ जलमग्न हुने समस्या रहेको भन्दै वर्षा यामको पानीलाई व्यवस्थित ढल निकासको लागि सरकारको ध्यानाकर्षण गराइन्। 

उनले समस्याको दीर्घकालिन समाधानका लागि वृहत् योजना बनाइ काम सुचारु गर्न आग्रह गरिन्।

सांसद विनिताकुमारी सिंहले चुरे पर्वतको ढुंगा, गिट्टी, बालुवा उत्खनन गरी भारतलाई निकासी गर्ने कार्य रोक्न माग गरिन्। उनले चुरेको संरक्षण र संवद्र्धनका लागि सरकारको ध्यानाकर्षण गराइन्।

त्यस्तै, सांसद विराजभक्त श्रेष्ठले नितिगत भ्रष्टाचार गाउँ गाउँसम्म पुगेको बताए। उनले यसलाई समयमै प्रभावकारी ढंगले नियन्त्रण नगर्ने हो भने संघीयताको औचित्य नै समाप्त पार्नसक्ने समेत बताए। अख्तियारले नीतिगत भ्रष्टाचारलाई अनुसन्धानको दायरामा नसमेटिनु शंकास्पद र मुलुकको लागि दुर्भाग्यपूर्ण भएको उनको भनाई थियो। 

अर्का सांसद श्यामकुमार घिमिरेले काम नगर्ने ठेकेदार र काम सम्पन्न भइसकेपछि पनि भुक्तानी नदिने सरकारमाथि पनि कारबाही गर्नेगरी सार्वजनिक खरिद ऐनमा संशोधन गर्न माग गरे।

सांसद शान्ति वि.कले प्रभात बस्याल र प्रिति घिमिरेको ३ वर्षदेखिको प्रेम सम्बन्धमा जातिय विभेदको ग्रहण लागेको बताइन्। उनले प्रेम सम्बन्धमा रहेका बसेललाई बलात्कार, अपहरण र शरीर बन्धकको झुटो मुद्दा दायर गरिएको भन्दै निःशर्त सुरक्षित रिहाइको माग समेत गरिन्।

सांसद शिव नेपालीले प्रेम गरेकै कारण बागलुङका प्रभात बसेल जातीय भेदभावका कारण अपहरण र जबरजस्ती करणी जस्तो जघन्य अपराधको भागि हुनुपरेको उल्लेख गर्दै गम्भिरतापूर्वक छानबिन गर्न सरकारको ध्यानाकर्षण गराए।

अर्का सांसद शिशिर खनालले धेरै सडक दुर्घटनाहरू हुने गरेको भन्दै चालक लाइसेन्सको प्रणाली र सुरक्षित ड्राइभिङको संस्कृति निर्माणमा काम गर्नुपर्ने बताए।

सांसद शेरबहादुर कुँवरले दार्चुलाको ब्यास गाउँपालिका छाङरु र तिकंरका जनतालाई जनगणनामा समेट्न नसक्नुको कारणले माग गरे।

अर्का सांसद सूर्य थापाले सामुदायिक विद्यालयका कर्मचारी र लेखापाल आन्दोलित रहेका भन्दै उनीहरुको न्युनतम पारिश्रमिक पाउनुपर्ने मागलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद सोविता गौतमले देशमा जलवायु आपतकाल आउन लागेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। उनले अकल्पनीय कठिनाइ आउने निश्चित देखिएको जिकिर गरिन्। उनले जलवायु परिवर्तनको भयावह स्थिति आउन नदिन सरकार जिम्म्मेवार बन्नुपर्ने पनि बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .